इजरालय र इरानबीचको युद्धविराम कार्यान्वयनमा आयो
काठमान्डौं, ११ असार । इजरालय र इरानबीचको युद्धविराम पूर्णरूपमा कार्यान्वयनमा आएको छ । आजदेखि लागू भएको युद्धविराम दुवै पक्षले कार्यान्वयन गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अप्रत्याशित रूपमा शुरू भएको इरान–इजरायल युद्ध १२ दिनपछि अप्रत्याशित रूपमै टुङ्गिएको हो । युद्धको १०औं दिनमा इरानी परमाणु भट्टीमा आक्रमण गर्दै अमेरिका पनि युद्धमा सहभागी भएको थियो ।
इरानले अमेरिकी आक्रमणको भोलिपल्ट कतार र इराकमा रहेका अमेरिकी सैनिक अड्डालाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो । इरानको जवाफी आक्रमणपछि अब युद्ध तीव्र रूपमा फैलने र कतिपयले तेस्रो विश्वयुद्धको शुरुआत भन्दै गर्दा युद्ध नाटकीय रूपमा रोकिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यराति सामाजिक सञ्जालमा लेख्दै युद्धविराम घोषणा गरेको केही घण्टापछि दुवै देशले युद्धविराम स्वीकार गरका हुन् ।
इरान र इजरायलबीच चलेको १२ दिनको युद्धमा झन्डै ७०० जना इरानी मारिएका छन् । इजरायलतर्फ २८ जना मारिएका छन् । दुवैतर्फ १ हजार जनाभन्दा धेरै घाइते भएका छन् । इजरायलको आक्रमणले इरानमा भौतिक रूपमा पनि ठूलो क्षति पुगेको छ । इजरायलमा पनि हमाससँगको २० महिने युद्धमा भन्दा इरानसँगको १२ दिने युद्धमा बढी भौतिक क्षति भएको छ ।











