भारतको असाममा एक हजार दुई सय भन्दा बढी गाउँ डुबानमा, ३२ हजार मानिसका घरहरू डुबे

काठमान्डौं, २० जेठ । भारतको असाममा बाढीको अवस्था झनै खराब हुँदै गइरहेको छ । असाम राज्य विपद् व्यवस्थापन प्राधिकरणका अनुसार हाल राज्यका २२ जिल्लाका १ हजार २ सय ५४ गाउँ बाढीको पानीमा डुबेका छन् । बाढीका कारण सबैभन्दा बढी क्षति श्रीभूमि, कछार, लखीमपुर र नागांव जिल्लामा भएको छ ।
विपद् विभागका एक अधिकारीले पछिल्लो २४ घण्टामा बाढीमा डुबेर थप दुई जनाको मृत्यु भएको बताका छन् । पछिल्लो चार दिनमा राज्यमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
यसैबीच, राज्यमा बाढीको अवस्था बिग्रँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आज मुख्यमन्त्री हिमन्त विश्व शर्मासँग फोनमा कुरा गरेर बाढीको बारेमा जानकारी लिनु भएको थियो । मोदीले केन्द्रीय सरकारको तर्फबाट राज्यलाई पूर्ण सहयोग गर्ने आश्वासन दिनु भएको छ । यस समयमा राज्यमा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका र लगभग ३२ हजार मानिसका घरहरू डुबेका विपद् विभागले जारी गरेको प्रतिवेदनमा भनिएको छ ।