२०८२ जेष्ठ ३२ गते शुक्रवार | 2025 June 13th Friday

मधेस प्रदेशमा एकैपटक ६४ वटा आयोजनाहरुको प्रधानमन्त्री ओलीद्धारा शिलान्यास

काठमान्डौं, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मधेस प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित विशेष समारोहमा डिजिटल प्रविधिमार्फत एकैपटक ६४ वटा आयोजनाहरुको शिलान्यास गर्नुभएको हो ।

यसरी ६४ वटा महत्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तर उन्नतिका क्रममा शिलान्यास भएको क्षणलाई मधेस प्रदेश सरकारले ऐतिहासिक एवं गौरवका रुपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद प्रकट गरेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेश अन्तर्गत  आठ  जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ । तीन वर्षभित्र सम्पन्न गर्ने कालोपत्रसहितको सो पक्की सडक निर्माणका लागि कूल रु १२ अर्ब ७० करोड खर्च हुने मधेस  प्रदेश  सरकारले जनाएको छ ।

उहाँका अनुसार यसअघि पहिलो चरणमा अगाडि बढाइएका ३२० किलोमिटर सडक योजनामध्ये २०० किलोमिटरभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ । बाँकी भागको सडक निर्माण तीव्र रूपमा बढाइने छ । निर्माण हुने सडकको चौडाइ साढे पाँचदेखि सात मिटर हुनेछ । सडकसँगै प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा एकएक वटा पक्की पुल निर्माणका लागि प्रक्रिया सुरु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस