सल्यानबाट प्रतिनिधिसभा र लुम्बिनीबाट राष्ट्रियसभामा चुनाव लडेका राजेन्द्रवीर राय पक्राउ
सल्यान ।
कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्।
उनलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो।
बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए। बैंकको रकम हिनामिना प्रकरणमा रायलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए।
२०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ देखि ०७९सम्म सिईओका रुपमा कार्यरत थिए। उनी यसबीचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए।
रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। सल्यानका राय पछिल्लो समय बाँकेका स्थायी बासिन्दा हुन्।
उनि २०७४ सालमा सल्यान प्रदेश सभा (ख)मा राप्रपाकाे तर्फबाट चुनाव लडेका थिए । त्यसपछि २०७९ मा एमालेमा प्रवेश गरेर सल्यानबाट प्रतिनिधिसभाकाे निर्वाचन लडेका थिए । प्रतिनिधिसभामा पराजित भएर उनले एमाले छाेडी नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरेर लुम्बीनीबाट राष्ट्रिय सभा सदस्यमा चुनाव लडेर त्यहाँबाट पनि पराजित भएका थिए ।











