२०८२ मङ्सिर २४ गते मङ्गलवार | 2025 December 9th Tuesday

बागचौर नगरपालिकाको चिनारी

नगरपालिकाकाे परिचय

कर्णाली प्रदेश अन्र्तगत सल्यान जिल्लाको पूर्वी उत्तरी भागमा रहेको बागचौर नगरपालिका समुन्द्र सतहबाट करिब ११०० मिटरदेखि २५०० मिटरको उचाइमा रहेको छ । स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा बागचौर नगरपालिका पनि घोषणा भएको हो ।

बागचौरको नाम कसरी रहन गयो भन्ने प्रश्नमा जनश्रुति तथा स्थलगत अध्ययन गर्दा ठोस रूपले यकिन हुन नसके पनि बूढापाकाहरूबाट मूलतः दुई प्रसङ्ग भेटियो । पहिलो प्रसङ्गअनुसार यही तथ्यमा थोरै फरक कुराको उठान गर्दै केहीले ‘बाघ’ लाई गाउँघरको भाषामा ‘बाग’ भन्ने गरेको र ‘बाग’ बस्ने चौर भएका कारण यसको नाम ‘बागचौर’ रहन गएको हुन सक्ने बताउँछन् । यसैगरी, अर्को तथ्यअनुसार नेपाली शब्दकोशमा ‘बाग’ को शाब्दिक अर्थ ‘बगैंचा’ भनेर उल्लेख छ । अर्थात् परापूर्वकालको कुनै समयमा यस ठाउँमा फलफूल या बिरुवा भएको बगैंचा थियो होला । त्यसरी बाग अर्थात् बगैंचा भएको चौर हुनाले यसको नाम ‘बागचौर’ रहन गएको हुन सक्छ ।

बागचौर नगरपालिकामा प्राकृतिक सौन्दर्य, नदीनाला, वनजङ्गल र धार्मिकस्थलहरूको रमणीयतामा आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान तानेको देखिन्छ । यसबाट पनि यस क्षेत्रको पर्यटकीय महत्व बुझ्न सकिन्छ । बागचौर कृषि तथा पशुपालनमा पहिचान बनाएको नगरपालिका समेत हो ।

बागचाैरले बनाएकाे सुन्तलाकाे पहिचान
नेपालमा पाइने एक प्रकारको फल हो सुन्तला । यो सुन्तला निकै स्वादिलो र रसिलो हुने गर्दछ । यसको बोट ५ देखि ८ फिटसम्म अग्लो हुन्छ । यो पतझड वर्गको वनस्पति हो । यसको बोटमा तीखो काँडा हुने गर्दछ । कर्णाली प्रदेशमा सबैभन्दा धेरै सुन्तला उत्पादन हुने ठाउँमा पर्दछ, बागचौर नगरपालिकाको कोटमौला ।

बागचौर नगरपालिका वडा नं. ८ र ९ मा पर्ने कोटमौलाभित्रका दर्जनौँ गाउँ सिजनमा सुन्तलाले राताम्मे देखिन्छन् । कोटमौलाभित्र सुन्तला पाउने गाउँहरूमा डाँगीगाउँ, रयजबोट, हरिपुर, बयालडाँडी, कोट्, खोरबारे, धामीढुङ्गा लगायत रहेका छन् भने अन्य गाउँमा पनि फाटफुट पाउने गर्दछन् । यहाँका किसानलाई सिजनको बेला सुन्तला टिप्न भ्याई–नभ्याई हुन्छ ।

घर नै ढाकिने गरी आँगनसम्म क्यारी मिलाएर लगाएका सुन्तलाका बोटहरू र कमेरो माटोले पोतिएका परम्परागत ढुङ्गे घरहरूका कारण यो गाउँ निकै आकर्षक मानिन्छ । यहाँ पुग्ने जो कोहीलाई पनि यस्तो दृश्यले मोहित पार्ने गर्छ । कोटमौलाका गाउँहरू कात्तिक महिनाको पहिलो हप्तादेखि पुसको अन्तिम सातासम्म पहेंलपुर देखिन्छन् ।

झन्डै ५० वर्षअघिदेखि सल्यानको काटमौलामा सुन्तला खेती सुरु भएको मानिन्छ । व्यावसायिक सुन्तला उत्पादनले यहाँका किसानको जीनवस्तर नै फेरिएको छ । खेती विस्तारसँगै यहाँका बासिन्दाले गाउँमै रोजगारी पाएका छन् । सल्यान सदरमुकाम खलङ्गाबाट करिब ४० किलोमिटर पूर्वी–उत्तरी रोल्पाको सिमानामा रहेको छ, कोटमौला । दाङ तुलसीपुरबाट पनि उत्तरी भागमा रहेको कोटमौला करिब ८५ किलोमिटरको दुरीमा पर्दछ । कोटमौलाबाट मात्रै वार्षिक रूपमा आधा अर्ब बराबरको सुन्तला निर्यात हुने गर्दछ ।

कोटमौला सँगै बागचौर नगरपालिकाको वडा नं. ३ पुतलिबास तथा खालीमा पनि पछिल्लो वर्ष यता व्यवसायीक सुन्तला खेतिले परिचित बनेको छ । यहाँबाट पनि वर्षेनी करोडौं मुल्यको सुन्तला निर्यात हुने गर्दछ ।

बाफुखोलाको आलु खेती
बाफुखोला आलु खेतीका लागि प्रख्यात मानिन्छ । साविकको बाफुखोला गाविस र हालको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने बाफुखोला सल्यानको पूर्वी–उत्तरी भागमा पर्छ; जहाँ रोल्पा र रुकुमसँग सिमाना जोडिएको छ । बाफुखोला राप्ती नदीको सिरानमा पनि पर्दछ । यहाँबाट बग्ने पानी रोल्पाको सुकाओडार हुँदा माडी नदीमा पुगेर राप्ती नदी बन्दछ । बाफुखोलाको पहिचान भनेको यहाँ उत्पादन हुने अर्गानी आलु हो ।

बाफुखोलामा सिँचाईको सुविधा भएको प्रत्येक घरपरिवारले आलु खेती गर्दछन् । यहाँ उत्पादन हुने आलु सल्यानसँगै दाङ, बाँके, बर्दिया, बुटवल, पोखरा, काठमाडौं र भारतका विभिन्न सहरहरूमा पुग्दछ । वर्षायाममा यहाँ आलुको सिजन हुने गर्दछ । व्यावसायिक रूपमा आलु खेती हुँदै आएको बाफुखोलाबाट वार्षिक २५ करोडभन्दा धेरैको आलु निकासी हुने गर्दछ ।

साविकको राप्ती अञ्चलको प्रमुख नदी राप्ती नदीको मुहान बाफुखोलाको पानीढलमा रहेको मानिन्छ । यस नदीले बाफुखोलामा पर्याप्त सिँचाईमा टेवा पु¥याएको देखिन्छ । यहाँबाट मुहान भएर बग्ने राप्ती नदी रोल्पा, प्यूठान, दाङ, बाँके हुँदै भारतमा पुग्ने गर्दछ ।

बाफुखोलाका अलवा बाचगौर नगरपालिकाको वडा नं. ४ पनि व्यावसायिक आलु खेतिमा अगाडी बढेको छ ।

 

प्रमुख धार्मिक स्थल ‘मोखला शिवगुफा’
बागचौर नगरपालिका, वडा नं. १०, मोखलामा रहेको शिवगुफाको मन्दिर नगरकै प्रमुख धार्मिक पर्यटकीयस्थल हो । धार्मिक, प्राकृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्व बोकेको यस शिवगुफाको मन्दिरमा हिन्दु धर्मका शिव–पार्वती देवीदेवताको पूजा–आराधना गर्ने गरिन्छ ।

हरेक वर्षको तिहारपछिको पूर्णिमाका दिन (मङ्सिर महिना) मा लाग्ने सल्यान जिल्लाकै ठूला मेलापर्वमध्येको एक भुमेश्वर मेलाका दिन यस शिवगुफा मन्दिरमा नगरपालिकाभित्र र बाहिरका भक्तजन एवम् पर्यटकहरूको ठूलो घुइँचो लाग्ने गर्दछ । साथै, प्रत्येक कृष्ण जन्माष्टमीको अवसर पारी मोखला क्षेत्रमा लाखे नाच पनि नाचिने गरिन्छ; जसको धार्मिक एवम् सांस्कृतिक रौनकताले यस क्षेत्रको महत्व र गरिमालाई थप उचाइ प्रदान गर्ने गरेको छ ।

मोखला शिवगुफाको प्राचीन इतिहासलाई नियाल्दा स्थानीयहरूका अनुसार परापूर्वकालदेखि नै मौजुद रहेको यसगुफालाई जङ्गलमा गाईबाखा चराउन आउनेक्रममा ग्वालाहरूले सर्वप्रथम पत्ता लगाएको मानिन्छ । वि.सं. २०३५–०४० तिरको समयदेखि सबैमाझ यस गुफा परिचित हुँदै गएको थियो । यसलाई छेकबार–घेरबार गर्दे संरक्षणको काम २०५० साल तिरबाट सुरु भएको मोखला बजारबासीको भनाइ छ ।

करिब ५०–६० मिटर लम्बाई भएको यस मोखला शिवगुफाभित्र ढुङ्गाबाट बनेका विभिन्न अलौकिक स्वरूप र विभिन्न प्राकृतिक संरचनाहरू रहेको पाउन सकिन्छ; जसमा शिवलिङ्गी, गाईका थुनहरू, सर्पहरू, कमलको तलाउ, इत्यादि ढुङ्गाको चट्टानमा प्रतिबिम्बित छन् । स्थानीय जनश्रुतिअनुसार महादेव भगवान पृथ्वीलोक भ्रमणका क्रममा मोखला शिवगुफाको प्वाल हुँदे कुमाखको सिद्धगुफामा पुग्ने गरेको कहावत रहेको पाइन्छ।

अग्लाटाकुरा ‘भ्यू टावर’
डाँगी जातिहरूको प्राचीन उद्गमस्थलको रूपमा बागचौर नगरपालिका, वडा नम्बर २, लस्तमलाई लिने गरिन्छ । यही लस्तमको डाँडोलाई बागचौर नगरपालिकाले भ्यू टावर निर्माण गरेर पर्यटकीय गन्तव्यको ठाउँ बनाएको छ । यहाँको भ्यू टावरबाट बागचौर नगरपालिकाका १२ वटै वडा, छिमेकी पालिकाका भू–भागका साथै, छिमेकी जिल्ला रोल्पा तथा रुकुमका समेत सुन्दर–रमणीय दृश्यहरू अवलोकन गर्न सकिन्छ ।

डाँगी जातिको उद््गमस्थलको रूपमा परिचित भ्यू टावर नजिकै यहाँ नेपालभरका डाँगी जातिहरूको कुल देवताको मन्दिर पनि बनाइएको छ । यो ठाउँ आफैँमा पनि धार्मिक महत्व बोकेको पवित्र भूमि भएकोले धार्मिक आस्थाको हिसाबले पनि पर्यटकीय गन्तव्यको रूपमा रहेको छ ।

उचाइमा रहेकाे ‘मख्लाम लेक’
नगरपालिका वडा नम्बर ७, ९ र ११ को बिच भागमा पर्ने मख्लाम टाकुरा मध्यपहाडी क्षेत्रको २ हजार ५ सय मिटरको उचाइमा रहेको छ । सल्यानमा रहेका अग्ला लेकहरूको हिसाबले यो चौथो स्थानमा रहेको छ भने बागचौर नगरपालिकाभित्रको सबैभन्दा ठूलो लेक रहेको छ ।

मख्लाम लेकको बारेमा स्थानीयमा विभिन्न जनश्रुति रहेको पाइन्छ । जनश्रुतिअनुसार, पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा विभिन्न राज्यहरूमा आफ्नो कब्जा जमाउँदै आएका थिए । वि.सं. १८५० तिर पृथ्वीनारायण शाहसँग पराजित राजाहरू विभिन्न ठाउँमा भाग्नेक्रम चलिरहेको थियो । सोहीक्रममा एउटा भोटे राजा यस मख्लाम लेकमा बस्र आइपुगेका थिए । मख्लाम लेकमा आइपुगेका ती राजाले पिउने पानीको लागि दक्षिण–पश्चिम दिशामा रहेको ठूला खोलाको मुहान, जुगे खोलाको मुहान र ताउले रहको प्रयोग गरेको मानिन्छ । अहिले पनि यसको प्रमाणस्वरूप मुहानमा आधुनिक रिजर्भ ट्याङ्कीको स्वरूप बोकेका गहिरो मुहानमा गहिरो खनेको र ढुड्जाग प्रयोग गरेको देख्न सकिन्छ ।

साथै, तत्समयको दरबारको सुरक्षाको लागि बनाएको पर्खालको अवशेषसमेत भेट्न सकिन्छ । मख्लाम लेकमा यहाँका स्थानीयले परापूर्वकालदेखि सिद्धचौरासीको पूजा गर्दै आएका छन् । यहाँ असार शुक्लपञ्चमी र मङ्सिर शुक्लपञ्चमीमा पूजा गरिन्छ । तर, विशेष प्राकृतिक प्रतिकूलताको अवस्थामा (खडेरीलगायत) मङ्गलबार र शनिबारको दिन पनि पूजा गरिन्छ ।
स्थानी शिक्षक कीर्तिबहादुर वलीको भनाइअनुसार वि.सं. २०२९ सालमा खडेरी परेको अवस्थामा वर्षाको प्रार्थना गर्दै यस लेकमा राँगा काटिएको थियो । तत्पश्चात् केही गिद्धले उक्त राँगाको मासु खाएको र भोलिपल्टदेखि मुसलधारे पानी परेको थियो रे ! यहाँ प्राकृतिक प्रतिकूलताबाट बच्न जङ्गली जनावरले मान्छेलाई हानी नगरोस् भन्दै बर्सेनि पूजाआजा गरिँदै आएको छ ।

धार्मिक एवम् ऐतिहासिक महत्वका साथै, मख्लाम लेक प्राकृतिक सुन्दरता र जैविक विविधताको दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । लेकको उत्तरतिर घना जङ्गल, पर्याप्त पानीका स्रोतहरू रहेका छन् । यहाँ विभिन्न प्रकारका जडीबुटीहरु पाइनुका साथै, लेकको वरिपरि विभिन्न वन्यजन्तुहरूको समेत वासस्थान रहेको छ । असीम महत्व बोकेको यस मख्लाम लेकलाई नगरको प्राकृतिक, धार्मिक एवम् पर्यटकीयस्थलको रूपमा प्रचार–प्रसार एवम् उचित विकास गर्दे पदमार्ग, जङ्गल सफारी या भ्यू–टावरस्थलको रूपमा स्थापित गरिएको खण्डमा भविष्यमा नगरपालिकाको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ ।

रानीका नाममा राजाले बनाएकाे ‘रानीपोखरी’
बागचौर नगरपालिका वडा नम्बर ८ मा अवस्थित रानीपोखरीको जनश्रुतिअनुसार निकै प्राचीन समयको कथन रहेको छ । बाइसे, चौबिसे राज्यको पालामा रानीपोखरी नजिकै कोटमौलामा राजाहरूको बसोबास थियो । किंवदन्तीअनुसार यहाँका तत्कालीन राजाले कोटमौला नजिकैको डाँडोमा रानीको नाममा बनाएको पोखरी भएको हुनाले यस ठाउँको नाम ‘रानीपोखरी’ रहन गएको जनश्रुति रहेको छ ।

यस रानीपोखरीमा रानी दिनहुँ गएर स्नान गर्ने गर्दथिइन् । एक दिन स्नान गर्ने कर्ममा रानीको यसै पोखरीमा डुबेर मृत्यु भएपश्चात् तत्कालीन राजाले रानीको सम्झनामा यो ठाउँमा मेला लगाउने परम्परा बसालेका हुन् । यहाँ बडा दसैँको घटस्थापनाको अघिल्लो दिन अर्थात् औँसीको दिनमा यहाँ सल्यानकै ठूलोमध्येको मेला लाग्ने गर्दछ । यस क्षेत्रमा लाग्ने यो मेलालाई स्थानीयद्वारा महत्वपूर्ण रूपमा हेरिन्छ ।

उहिले–उहिले २ दिनसम्म लाग्ने यहाँको मेला अहिले भने १ दिन मात्रै लाग्ने गरेको छ । मेलामा स्थानीय झाँकीहरू समेत प्रदर्शन हुने गर्दछन् । यो मेला हेर्न छिमेकी जिल्ला रोल्पा, दाङ, रुकुम तथा जाजरकोटबाट पनि थुप्रै मात्रामा मान्छे आउने गर्दछन् ।

त्यस्तै, यहाँ विमानस्थलका लागि पनि अति उपयोगी ठाउँ रहेको छ । यो क्षेत्रमा एयरपोर्ट बनाउने भन्दै करिब ६ दसकअघि दमाचौरका मस्तबहादुर चन्दले पहल थालेका थिए । त्यसबेला करिब एक हप्ता जति स्थानीयहरूले विमानस्थल बनाउनका लागि घरेलु औजारहरुले चौर खनेका समेत गरेका थिए । जिर्ण अवस्थामा रहेकाे पहिलेकाे रानीपाेखरीलाई अहिले संरक्षण गरेर नयाँ पाेखरी बनाइएकाे छ ।

युद्ध पर्यटनको लागि ‘विजयधुरी लेख’
विजयधुरी बागचौर नगरपालिका, वडा नम्बर १२ (साविकको बाफुखोला गाविस) मा रहेको छ । पहिले यसको नाम ‘बाबिर’ रहेको थियो । पछि माओवादी १० बर्से जनयुद्धकालमा सहिद विजय घलेको नाममा यसको नाम विजयधुरी राखिएको हो । यस अर्थमा पनि यस विजयधुरी युद्ध पर्यटनको गन्तव्य बन्न सक्ने देखिन्छ ।

विजयधुरी सल्यान र रोल्पाको सिमानामा रहेको छ । यहाँबाट ३ वटा जिल्लाको सदरमुकामसहित मनमोहक दृश्य देख्न सकिन्छ । रुकुमको सदरमुकाम मुसीकोट, जाजरकोटको सदरमुकाम खलङ्गा र सल्यानको सदरमुकाम खलङ्गा यहाँबाट सजिले देख्न सकिन्छ । साथमा प्राकृतिक सुन्दरताको लोभलाग्दो दृश्यावलोकनका लागि पनि विजयधुरी गज्जबको गन्तव्य बन्ने देखिन्छ । बाफुखोलाको दोभान बजारदेखि विजयधुरीसम्म छोटो पैदलमार्ग निर्माण गरी ट्रेकिङ रुटको पनि विकास गर्न सकिन्छ ।

वली जातिको उद्गमस्थल ‘हिमचौर’
धार्मिक, प्राकृतिक एवम् सांस्कृतिक महत्व बोकेको हिमचौर बागचौर नगरपालिकाअन्तर्गत वडा नं. ७ मा अवस्थित छ । नेपालभरिकै वली जातिको प्राचीन उद्गमस्थलको रूपमा यस ठाउँलाई चिनिन्छ । हाल यस स्थानमा वली जातिहरूको बसोबास हुँदे आइरहेको छ ।

स्थानीय हरिबहादुर वलीद्वारा सङ्कलित वंशावलीमा उल्लेख भएअनुसार परापूर्वकालमा भारतको काशी, कुमाउ, गढ़वाल हुँदै नेपालको डोटी भएर जाजरकोटको लोहागबाट वि.सं. १५०० तिर हिमचौरमा वली बस्ती बसेको बुझिन्छ । त्यसरी आउनेक्रममा २ भाइको परिवारमध्ये कान्छो बुङ वली शिवरथको बाङ्मामा बस्न गएको र माइलो भाइ हिक्मत वलीचाहिँ हिममा बस्न आएको मानिन्छ ।

जाजरकोट सुवाकोटमा बास बस्दा झुक्काएर कान्छो भाइलाई रक्सी खुवाइएको हुँदा उनीहरूको वंशले जनै लाउन छोडेको र एउटै थरको अर्को भाइको वंशले भने जनै लाउने गरेको स्थानीयको मान्यता छ । यसरी हेर्दा सम्पूर्ण वली जातिको प्राचीन भूमिको रूपमा रहेको यस हिमचौर, जहाँबाट वली जातिहरू अन्य जिल्लाहरू जस्तैः रोल्पा, रुकुम, जाजरकोट, दाङ, बाँके, बर्दिया हुँदै पश्चिमबाट पूर्वी–झापासम्म विस्तार भएको मानिन्छ ।

राेल्पा जिल्लाकाे नामाकरण गरिएकाे ठाउँ ‘रोल्पाथुम’
बागचौर नगरपालिका, वडा नम्बर ८ मा अवस्थित ठाउँ हो– रोल्पाथुम । तर, यसलाई अहिले ‘रोल्पाथुम’ नभनेर कोटमौला गैरीबिसौनी नामले चिनिन्छ । यही रोल्पाथुमको नामबाट रोल्पा जिल्लाको नामकरण गरिएको हो । २०१८ सालपूर्व रोल्पा नामको जिल्ला अस्तित्वमा नै थिएन ।

तत्कालीन राजा महेन्द्रबाट पञ्चायती शासन व्यवस्थाको बिजारोपण सँगसँगै जिल्लाहरूको संरचना विभाजन र समायोजन गर्नेक्रममा प्यूठान र सल्यान जिल्लाअन्तर्गत रहेका केही भू–भागलाई मिलाएर एउटा छुट्टै जिल्ला घोषणा गर्ने कार्य भयो, जुन जिल्ला थियो– रोल्पा ।
त्यसबखत रोल्पा जिल्लामा ३३ गाउँ पञ्चायत रहेका थिए; जसमा हाल सल्यानमा पर्ने त्यसबेलाका १२ वटा गाउँ पञ्चायत रोल्पा जिल्लामा समेटिएका थिए । त्यसमा कोटमौला पञ्चायत पनि रोल्पा जिल्लामा रहेको थियो । सुरुमा केही समय कोटमौलामाथिको रोल्पाथुम डाँडो (हाल कोटमौला गैरीबिसौनी दरबार घर) बाट रोल्पा जिल्लाको प्रशासनिक काम हुन थाल्यो ।

त्यहीँबाट प्रशासनिक काम हुन थालेपछि रोल्पाथुमको नामबाटै रोल्पा जिल्ला बनाइएको हो । पछि रोल्पाको प्रशासनिक अड्डा लिबाङ सारियो । २०३२ सालसम्म हाल सल्यानमा पर्ने १२ गाउँ पञ्चायतको प्रशासनिक काम लिबाङबाटै हुने गर्दथ्यो । २०३२ सालमा त्यसबेलाका १२ गाउँ पञ्चायतलाई रोल्पाबाट टुक्याएर पुनः सल्यानमा गाभिएको हो ।

 

शिवजीको रथ र खड्ग उत्पत्ति भएको ‘शिवरथकोट’
बागचौर नगरपालिका वडा नम्बर ५ शिवरथकोट पनि नगरको एक ऐतिहासिक धार्मिक स्थल हो । शिवजीको रथ र खड्ग उत्पत्ति भएकोले यस क्षेत्रको नाम शिवरथ रहन गएको किंवदन्ती छ ।

शिवरथकोटमा दुर्गादेवीको मन्दिर छ । यस मन्दिरमा प्रत्येक वर्षको वडादशैंमा घटस्थापनादेखि विजयादशमीसम्म दुर्गा सप्तसती चण्डी पाठ गरिन्छ । नवमीको दिन साँझ त्यस मन्दिरमा बोका, राँगा, हाँस र कुखुराको बली चढाइन्छ । विजयादशमीको दिन त्यस मन्दिरमा ठूलो मेला लाग्दछ । यस मेलामा टाढा टाढाबाट मानिसहरू आउने गर्दछन् ।

सोरठी, सेरेङ्ग, पैसेरी, झाप्रे आदि नाँचहरू नाँच्ने गर्दछन् । चैते दशैमा पनि प्रतिपदादेखि रामनवमीस्म्म पूजापाठ गरिन्छ । अष्टमीको दिनमा बोका, राँगा, हाँस र कुखुराको बली चढाइन्छ ।
त्यस मन्दिरमा स्थापित खड्ग आफै स्थापित हुनु, बनाएका कृति होइनन् । आजभन्दा सय वर्ष पहिले कालचन भन्ने चन्द ठकुरीको घरमा एक खड्ग (खाँडा) देवा परी तिमीले मेरो पूजा गर्ने र वली चढाउने गर्नुपर्दछ, यसबाट तिमीलाई राम्रो होला भन्ने सपना देखिएछ । त्यसपछि ती कालचन ठकुरीले आफ्नै घरको आँगनमा मन्दिर बनाई पूजा गर्ने गरेछन् । ती कालचनको मृत्युपश्चात तिनका छोराहरूले त्यसको सेवा गर्न नसक्ने ठानी ती स्वड्ग (स्वाँडा) लाई टाढै छोड्ने विचार गरी नेपालतिर लगेछन् ।

खाँडालाई निगालोको पेटारोमा सफा कपडाले बेरेर राखेका थिए। सात दिनको बाटो हिंडेर नेपालगञ्ज पुगिन्छ भन्ने दिन पेटारो खोलेर हेर्दा त्यो खाँडो त्यहाँ रहेछन् । वडो पश्चातमा परी घर पर्केर आउँदा सो खाँडो पहिलेकै ठाउँमा बसेको भेटाएछन् । त्यस पश्चात केही वर्ष पूजापाठ बली केही पनि दिएनछन् । पूजापाठ नगरेकोले ठकुरीले घरमा हान मार परी ज्यान मार्ने केशसम्म लागेछ र जेल बस्नु परेछ ।

त्यसपछि पुनः कालचनका छोरा हरिबहादुर चन्दले आफ्नै जग्गामा कालिका देवीको मन्दिर बनाई २००३ सालदेखि पूजापाठ गर्ने, बली दिने चलन चलाएछन् । वि.सं. २०२१ सालदेखि यही गाउँ पञ्चायतका प्रधान श्री नरबहादुर चन्दले वर्षको २ पटक वडा दशैं र चैते दशैमा पूजा गर्ने वली चढाउने चलन चलाएपछि हालसम्म त्यसैअनुरूप पूजा गरिआएको छ। हरिबहादुर पछि उनका भाइ छोरा रूद्रबहादुर चन्द र त्यसपछि उनकै कान्छा छोरा रामबहादुर चन्दले पूजा गर्दै आएका छन्। पाठ गर्ने ब्राह्मणहरूमा मनिराम उपाध्याय, त्यसपछि लक्ष्मीप्रसाद उपाध्याय र हाल दण्डपाणि उपाध्यायले पूजापाठ गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस