सगरमाथा संवादमा १ सय ७५ जना विदेशी विशिष्ट पाहुना सहभागी हुँदै
काठमान्डौं, ३० वैशाख । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपाली सहभागी हुने जानकारी दिनु भयो ।
पहिलो संस्करणको सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ । सगरमाथा संवाद नेपालले स्थापना गरेको एउटा अन्तरराष्ट्रिय मञ्च हो । मानव जगतका विभिन्न समस्या र मुद्दाबारे संवाद गर्ने, छलफल गर्ने तथा समाधानका लागि एउटा निष्कर्षमा पुग्ने यसको उद्देश्य रहेको छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन हुने उक्त समारोहमा परराष्ट्रमन्त्री डा. राणाले स्वागत मन्तव्य दिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने पनि भएको छ ।











