सल्यानमा फेला पर्याे दुर्लभ ‘रुख उन्यू’

सल्यान ।
दुर्लभ बिरुवाकाे रुपमा रहेकाे रुख उन्यू सल्यानमा फेला परेकाे छ । पश्चिम नेपालमै पहिलो पटक सल्यानकाे दार्मा गाउँपालिका र कपुरकोट गाउँपालिकाकाे फरक फरक दुइ सामुदायिक वनमा सानो संख्यामा रुख उन्यु फेला परेकाे वनस्पित अनुसन्धान केन्द्र सल्यानले जनाएकाे छ ।
वैज्ञानिक रुपमा साइथिया स्पाइनुलोसा भनेर चिनिने रुख उन्यू नेपालमा चार प्रजाती साइटिसमा सुचिकृत छन्। ती मध्ये दुइलाइ संकटापन्न, एउटालाइ दुर्लभ र एउटा हराउँदै गइरहेकोमा मूल्याङ्कन गरिएको छ। उपस्थिति र फैलावटको आधारमा साइथिया स्पाइनुलोसा लाइ लिस्ट कन्सर्न प्रजाति मानिएको छ।
फरक फरक देशहरुले फरक फरक सूचीकृत गरे अनुसार साइथिया स्पाइनुलोसालाई कतै दुर्लभ त कतै थ्रेटन अनि कतै लिस्ट कन्सर्न प्रजाति मानिन्छ। नेपालले भने लिस्ट कन्सर्नमा राखेको छ । देश अनुसार बासस्थान पनि थोरै फरक फरक देखिन्छ । नेपालमा यसको उपस्थिति ७५० मिटर देखि २००० मिटर पूर्व र मध्य नेपाल भनिएको छ भने ताइवानमा ३०० मिटरदेखि २५०० मिटरको उचाइमा घना, गाढा जंगलहरूमा पाइन्छ । अब भने यो प्रजाती पूर्व मध्य सँगै पश्चिम नेपालमा पनि रिपोर्ट भएको वनस्पित अनुसन्धान केन्द्र सल्यानका प्रमुख प्रमुख डा. मित्र पाठकले बताए ।
काँडेदार फर्न रूख भनेर चिनिने साइथिया स्पिनुलोसाको परम्परागत औषधि, खाना र सजावट सहित विभिन्न प्रयोगहरू छन्। यसलाई परम्परागत औषधिमा छाला, मिर्गौला र आँखाको संक्रमणको उपचारको लागि र क्यान्सर र मधुमेह तथा क्षय रोगहरूको लागि पनि प्रयोग गरिन्छ।
यसबाहेक यसको पातहरू अचार र तरकारीको लागि प्रयोग गर्न सकिन्छ, र डाँठको गुदि खान योग्य र स्टार्च युक्त हुन्छ। साइथिया स्पिनुलोसालाई सजावटी बोटको रूपमा पनि मूल्यवान मानिन्छ । वनस्पित अनुसन्धान केन्द्र सल्यानले रुख उन्यु लगायत सल्यान र आसपास पाइने दुर्लभ र संकटापन्न विरुवाहरु काकरसिङी, वन चाँप, सुनाखरी, टटेलो लगायतको संरक्षणका लागि सचेतना अभियान तथा सामुदायिक वनमा पुन:रोपणको काम पनि गरिरहेको छ ।