नेपालमा मानव अधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक, एम्नेस्टी इन्टरनेशनल

काठमान्डौं, १६ वैशाख । एम्नेस्टी इन्टरनेशनलले नेपालमा मानव अधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक रहेको बताएको छ । वार्षिक प्रतिवेदन २०२४÷२५ सार्वजनिक गर्दै एम्नेस्टीले नेपालको मानव अधिकार अवस्था खस्किएको जानकारी गराएको हो । नेपालले अभिव्यक्ति स्वतन्त्रता, महिला र सीमान्तकृत समुदायको न्याय, जबरजस्ती निष्काशन र द्वन्द्वकालीन मुद्दाहरू समाधानमा चुनौतीहरूको सामना गरिरहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
नेपाल सरकारले अभिव्यक्ति र भेला हुने स्वतन्त्रतालाई कडाइका साथ सीमित गरेको एम्नेस्टी इन्टरनेशनलले उल्लेख गरेको छ । यस्तै मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रतालाई थप खुम्च्याउने खतरा बढेको समेत प्रतिवेदनमा उल्लेख गरेको छ । सन् २०२४ मा महिला र बालिकाविरुद्ध हिंसा व्यापक बढेको उल्लेख गर्दै प्रतिवेदनमा बाल विवाह र छाउपडी जस्ता हानिकारक प्रथाहरू कानूनी निषेधका बाबजुद कायमै रहेको बताइएको छ ।