तल्लो संरचनाको अधिवेशन निर्धारित समयमा गर्न रास्वपाको ताकेता

काठमाडौं, १६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तल्लो संरचनाको अधिवेशन गर्न ताकेता गरेको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले मातहतका संरचनालाई परिपत्र गरेर निर्धारित समयमा अधिवेशन गर्न निर्देशन दिनुभएको छ । प्रदेश, जिल्ला, पालिका र वडा तहलाई पत्र लेखेर समिति गठन, आवश्यक संगठन निर्माण अभियान संचालन र संगठन परिपक्व बनाई अधिवेशन गर्न निर्देशन दिएको बुर्लाकोटीले बताउनु भयो ।
यही वैशाखको अन्तिम साता गर्ने गरी पूर्व निर्धारित महाधिवेशनलाई रास्वपाले फागुनमा सारेको छ ।तल्लो तहका अधिवेशन निर्धारित मितिमा नसकिएपछि महाधिवेशनको समय सारिएको छ । ७ देखि ९ फागुनसम्म चितवनमा महाधिवेशन गर्ने गरी नयाँ मिति तोकिएको छ । ४ वैशाखमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रदेखि वडा अधिवेशनको नयाँ मिति तोकेको थियो ।
नयाँ समयतालिका अनुसार असोजसम्म वडा, कार्तिकमा पालिका, मंसिरमा जिल्ला, माघमा १५ प्रदेश अधिवेशनको समय तोकिएको छ । रास्वपाले हालसम्म ७१ जिल्लामा पार्टी संगठन विस्तार गरेको छ । रास्वपाले २ चैतबाट पालिका अधिवेशन सुरु गरेको थियो । हालसम्म १८ पालिकामा अधिवेशन गरेर निर्वाचित कार्यसमिति गठन भएको छ ।