२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

सरकारको नीति तथा कार्यक्रम वैशाख १९ मा ल्याउने

काठमाडौं, १६ वैशाख । सरकारको नीति कार्यक्रम आउँदो वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ०८२–८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते दिउँसो ३ बजे ल्याउने निर्णय गरेको हो ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा वाचन गरेर सार्वजनिक गर्ने संवैधानिक व्यवस्था रहेको छ ।मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गर्न राष्ट्रपतिसमक्ष सिफारिस अनुरोध गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । गएको १२ गते बोलाइएको संघीय संसद्को दुवै सदनको अधिवेशनमा परम्परा तोड्दै सरकारले बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल नगरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि छलफल हुनेछ । संघीय संसद्को दुवै सदनमा अलग अलग छलफल हुनेछ । करिब एक साता छलफल गरेपछि नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते जवाफ दिने कार्यतालिका बनाइएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस