२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

सत्तामा कम्युनिस्टहरुको एकछत्र हालीमुहाली, वर्तमान सरकारले जनपक्षीय रूपमा काम गर्न नसकेको विपक्षी दलहरूको आरोप

काठमान्डौं, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी ने.क.पा. स्थापनाको ७७ वर्षमा प्रवेश गरेको छ । वि.स. २००६ साल वैशाख १० गते भारतको कोलकातामा रहेको श्यामबजारमा एक जना मानिसको घरमा ने.क.पा. स्थापना भएको थियो । ने.क.पा.का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ रहनु भएको थियो ।

सदस्यहरूमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठ रहनु भएको थियो । रुसी क्रान्तिको प्रभाव विश्वभर परेको, चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति अन्तिम चरणमा पुगेको, ब्रिटिस उपनिवेशबाट भारत मुक्त भएको र नेपाल १०४ वर्ष लामो जहानियाँ राणा शासनको निरङ्कुशताबाट मुक्त हुन खोजिरहेको समयमा पुष्पलालले ने.क.पा. स्थापना गर्नुभएको थियो ।

पार्टी स्थापनाको झण्डै आठ दशकको दौडान सत्ता स्वार्थ, शक्ति सङ्घर्ष तथा नेतृत्वको टकरावले धुजाधुजा बनेको ने.क.पा.को भविष्य अन्धकार रहेको विश्लेषकहरू बताउँछन् । गणतन्त्र स्थापनाको १७ वर्षमा गठन भएको १३ वटा सरकारमध्ये ९ वटाको नेतृत्व यिनै दुई ठुला वामपन्थी दल ने.क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्रले गरेको छ । तथापि जनताको अवस्था परिवर्तन हुन सकेको छैन ।

पछिल्लो समय राजावादीहरू यो व्यवस्थाविरुद्ध सडकमा निस्किन थालेका छन् । ने.क.पा. मुख्यतः तीन टुक्रामा विभाजन भएको छ । असार ३१ गते प्रचण्ड नेतृत्वको सरकारलाई ढालेर कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएको छ । दुई तिहाइको सरकारले समेत जनपक्षीय रूपमा काम गर्न नसकेको विपक्षी दलहरूको आरोप रहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस