२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

वर्षाका कारण खेल रद्द भएपछि नेपाल आई.सी.सी. १९ वर्षमुनिको विश्वकपमा छनोट हुन असफल

काठमान्डौं, ६ वैशाख । नेपाल अर्को वर्ष हुने आई.सी.सी. १९ वर्षमुनिको विश्वकपमा छनोट हुन असफल भएको छ । आई.सी.सी. १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल र अफगानिस्तानबीच आजको खेल वर्षाका कारण रद्द भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । अर्को वर्ष जिम्बावे र नामिबियामा हुने १९ वर्षमुनिको विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने भएको थियो ।

अफगानिस्तानलाई बराबरीले पनि पुग्थ्यो । तर हिजो बेलुकादेखि बिहानसम्म भएको वर्षाले मूलपानी मैदान भिजेर खेल सञ्चालन हुन ढिलाइ भएको थियो । ३० यार्ड सर्कलभित्रको मैदान सबै सुके पनि बाउन्ड्री लाइन छेउछाउको मैदान नसुकेका कारण म्याच रेफ्री तथा अम्पायरहरुले कम्तीमा २०–२० ओभरको खेल हुन पनि सम्भव नभएको बताउँदै खेल रद्द गरेका हुन् ।

नेपालले गएको वर्ष दक्षिण अफ्रिकामा भएको आई.सी.सी. १९ वर्षमुनिको विश्वकपमा अफगानिस्तानलाई एक विकेटले पराजित गरेको थियो । त्यसपछि नोभेम्बरमा यू.एई.मा भएको एशिया कपमा पनि नेपालले अफगानिस्तानलाई जितेको थियो । यो प्रतियोगिता अघि नेपाल र अफगानिस्तानका १९ वर्षमुनिका टोलीले तीन खेलको शृङ्खला खेलेकामा अफगानिस्तान २–१ ले विजयी भएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस