सामुदायिक वनमा अनुमति नलिई रुख काटेको आरोपमा धरानका नगर प्रमुख साम्पाङमाथि छानबिन हुने

काठमान्डौं, ५ वैशाख । धरानका नगर प्रमुख हर्क साम्पाङले सामुदायिक वन क्षेत्रमा रुख काटेको भन्दै डिभिजन वन कार्यालय सुनसरीले छानबिन सुरु गरेको छ । फायर लेन बनाउने भन्दै मेयर साम्पाङले धरान २० विष्णुपादुका सामुदायिक वनको जङ्गलमा रुख काट्नु भएको थियो । मेसिन प्रयोग गरेर आफैले अनुमति विना रुख काटेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन थालेको हो । साम्पाङले चैत्र १९ गते मेसिन प्रयोग गरेर रुख काटेको उजुरी डिभिजन वन कार्यालय सुनसरीमा परेको छ ।
विना अनुमति रुख काटेको उजुरी परेपछि डिभिजन वन कार्यालय सुनसरीले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिन समितिमा विष्णुपादुका सबडिभिजन वन अधिकृत महेश कुमार शाह संयोजक रहनु भएको छ । यस्तै पञ्चकन्या सब डिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे छानबिन समितिका सदस्य रहेको डिभिजन कार्यालय सुनसरीका प्रमुख खुद्रोस मियाँले बताउनु भयो । उहाँले छानबिन समितिले स्थलगत जाँचबुझ गरी तयार गरेको प्रतिवेदन अनुसार सजायको व्यवस्था हुने बताउनु भयो । उहाँले रुख काटे नकाटेको के हो ? यसबारेमा स्थलगत छानबिन हुने पनि बताउनु भयो ।
छानबिन समितिको प्रतिवेदनको आधारमा वन ऐन अनुसार सजाय हुने छ । प्रमुख मियाँले वन क्षेत्र भित्र इजाजत बिना रुख काट्ने छुट कसैलाई नभएको बताउनु भयो । विष्णुपादुका सामुदायिक बन उपभोक्ता समितिले धरान नगरपालिकाका प्रमुख साम्पाङले फायर लेन बनाउनका लागि सामुदायिक वनका रुख काटेको बताएको छ ।