२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

चैत २० गतेदेखि सुरु भएको शिक्षकहरूको प्रदर्शन आज १६ औं दिनपनि काठमान्डौंमा जारी

काठमान्डौं, ४ वैशाख ।   शिक्षकहरूले आज १६ औं दिन पनि काठमान्डौंको सडकमा प्रदर्शन गरेका छन् । चैत २० गतेदेखि प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज पनि सडकमा प्रदर्शन गरेका हुन् । शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर–नयाँ बानेशवर सडक अवरुद्ध भएको छ । शिक्षकहरूले सडक ढाक्ने गरी प्रदर्शन गरिरहेका छन् । माइतीघर–नयाँ बानेश्वर सडकको प्रभावले बागमती करिडोर सहित अरू सडकहरूमा गाडीको चाप बढेको प्रहरीले जनाएको छ ।

सरकारले बजेट अधिवेशन आह्वान गरेर ’फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिए पनि शिक्षकहरूले विश्वास गरेका छैनन् । सरकारबाट यसअघि धोका पाएको भन्दै शिक्षकहरू यस पटक ऐन लिएर मात्र फर्कने अडानमा रहेका छन् । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना बढेको छ ।

कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ गतेदेखि हुने तालिका रहेको छ । शिक्षकहरू नै सहभागी नहुने भएपछि परीक्षा सञ्चालन गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभयो । शिक्षकहरू परीक्षामा आउने आशामा रहेको तर अब समय कम हुँदै गएको उहाँले बताउनुभयो । कक्षा १२ को परीक्षा तोकिएको मितिमा सञ्चालन नभएमा त्यसको असर सम्पूर्ण शैक्षिक क्षेत्रमा पर्ने भएकोले शिक्षक र सरकार दुवै संवेदनशील हुनुपर्ने बोर्डका अध्यक्ष शर्माको भनाइ रहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस