शिक्षक महासंघको बैठक आज बस्दै

काठमाडौँ, ४ बैशाख । सरकारले संसदको वर्षे अधिवेशन आह्वान गरेपछि शिक्षक महासंघले आजको लागी बैठक बोलाएको छ । मंगलबार राति सरकारले शिक्षकको माग अनुसार शिक्षा विधेययक पेस गर्ने गरी संसद बैठक आह्वान गरेपछि महासंघले बैठक डाकेको हो । आज बिहान बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्ने महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको भनाई छ ।
सरकारसँग अहिले कुनै संवादमा नरहेको उहाँले बताउनु भयो । आज बिहान बैठक बसेर आन्दोलनको समीक्षा र थप रणनीति बनाउने महासंघको तयारी छ । ऐन जारी नभएसम्म आन्दोलन नरोकिने अडान शिक्षकहरूको छ । महासंघको नेतृत्वमा २० चैतदेखि काठमाडौंमा शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । शिक्षकको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ५ गते बिहिवार