२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

आज १३ औँ दिन पनि शिक्षकहरुको आन्दोलनसंगै प्रदर्शन जारी

काठमान्डौं, १ वैशाख । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज १३ औँ दिन पनि प्रदर्शन जारी राखेका छन् ।सरकार र शिक्षकबिच दुई पटक वार्ता भए पनि कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनलाई निरन्तरता दिएका हुन् । आन्दोलन नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि काठमान्डौँको माइतीघर मण्डलमा सुरु भएको थियो । एक सातासम्मको शान्तिपूर्ण मागमा सरकारले कुनै चासो नदेखाएको भन्दै शिक्षकहरूले चैत २६ गतेदेखि शैक्षिक हडताल गरी आन्दोलनलाई थप तीव्रता दिएका छन् ।

सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौता बमोजिम सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग रहेको छ । लाखौँ शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासीन बनेको उनीहरूले आरोप लगाएका छन् । संसद्को नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरू विकल्प नरहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।

यसैबीच, भोलि वैशाख २ गते देखि नयाँ शैक्षिक वर्ष सुरु हुने भएकाले शैक्षिक हडतालले प्रत्यक्ष असर गर्ने देखिएको छ । वैशाख २ गतेदेखि देशभरका विद्यालयहरूमा नयाँ विद्यार्थी भर्ना तथा घरदैलो अभियान सञ्चालन हुनुपर्ने शैक्षिक कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते सोमवार
प्रतिक्रिया दिनुहोस