२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

नेकपा एमालेले लोकतन्त्र दिवसका दिन काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

काठमाण्डौँ, १ वैशाख । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते एक लाख युवालाई काठमाडौँमा उतारेर शक्ति प्रदर्शन गर्ने भएको छ । नेकपा एमाले युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार देशभरका कम्तीमा एक लाख युवाहरू वैशाख ११ गते काठमाडौँमा भेला हुनेछन् । काठमाडौँको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम गरिने थेवेले बताउनु भएको छ । युवासंघका उपाध्यक्ष कृष्णहरि केसीका अनुसार युथ समिटमा युवाका एजेन्डाका बारेमा छलफल हुने छ ।

युवा उत्सवका नाममा एमालेले युवाहरूलाई काठमाडौँमा बोलाएर शक्ति प्रदर्शन गर्न लागेको हो । २०६२÷०६३ को जनआन्दोलनपछि वैशाख ११ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भएकाले लोकतन्त्र दिवसका रूपमा मनाउने गरिँदै आएको छ । सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागितामा २०६२–६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु वैशाख ११ गतेका दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनः स्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते सोमवार
प्रतिक्रिया दिनुहोस