नयाँ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान आजदेखि सुरु

काठमाण्डौँ, १ बैशाख । नयाँ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान सुरु भएको हो । सरकारले सबै अभिभावक तथा सरोकारवालाहरुलाई यो अभियान सफल पार्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गरेको हो ।
मन्त्रालयले शैक्षिक सत्र २०८२ अभियान सफल पार्न मन्त्रीस्तरको निर्णयसहित सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई ७ बुँदे अनुरोधसहित भर्ना अभियानमा सहयोग गर्न आग्रह गरेको छ । विद्यालयको सेवा क्षेत्रभित्र बसोबास गर्ने विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी भर्ना अभियान सञ्चालन गर्न÷गराउन भनिएको छ । विद्यालय भर्ना अभियानको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गर्नु भएको छ ।