हङकङमा भइरहेको चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा भोलि नेपाल र कुवेत खेल्न

काठमान्डौं, ३० चैत । हङकङमा भइरहेको चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । लिग चरणको अन्तिम खेलमा आज नेपाल र हङकङबीचको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अङ्क बाँडका हुन । नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो ।
तीन खेलमा दुई जीत र एक खेल नतिजा विहिन भएपछि नेपालको पाँच अङ्क भएको थियो । एक खेल मात्र जितेको हङकङको तीन अङ्क रहेको थियो । त्यसअघि कुवेतले कतारलाई हराएर चार अङ्क जोड्दै नेट रन रेटका आधारमा फाइनल पुगेको हो । हङकङको टिनक्वाङ रोड रिक्रिएशन ग्राउण्डमा टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो ।
हङकङले नौ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो । त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल शुरु हुन ढिलाइ हुनुका साथै फेरि पानी पर्न थालेपछि खेल रद्द भएको थियो । नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो । त्यस्तै दोस्रो खेलमा कुवेतलाई हराएको थियो । टी–२० शृङ्खलाको फाइनल खेल भोलि हुने भएको छ ।