२०८२ बैशाख ५ गते बिहिवार | 2025 April 17th Thursday

तीव्र हावा हुरीका कारण उत्तरी चीनको जन जीवन प्रभावित, बेइजिङका ४ सय १३ वटा उडानहरू रद्द

काठमान्डौं, ३० चैत । चीनमा आज चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ । बेइजिङ लगायत विभिन्न शहरहरूमा सयौँ हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन् । साथै केही रेल सेवाहरू पनि रोकिएका छन् । चीनको मौसम विज्ञान प्रशासनले जनाए अनुसार यो तीव्र हावा चिसो वायुमण्डलीय चक्रवातका कारण उत्पन्न भएको हो, जुन पूर्व र दक्षिणतर्फ सर्दै शुक्रबारदेखि नै असर पारिरहेको छ । बेइजिङले पछिल्लो १० वर्षमा पहिलोपटक उच्च स्तरको हावाहुरी सतर्कता जारी गरेको छ । आज शनिबार बिहानसम्म बेइजिङको राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा ४ सय १३ वटा उडानहरू रद्द भएका छन् ।

त्यसैगरी, बेइजिङ शहरमा करिब ३०० रूख ढलेका छन् र १९ वटा गाडीहरूमा क्षति पुगेको छ, तर हालसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन । जलवायु परिवर्तनका कारण यस्ता चरम मौसमका घटनाहरू चीनमा बारम्बार देखिन थालेका छन् । गत वर्ष बाढीका कारण दर्जनौँ नागरिकको मृत्यु भएको थियो र हजारौँ विस्थापित भएका थिए। यसैगरी, गत मे महिनामा लगातारको वर्षाले दक्षिणी चीनको एउटा सडक भासिँदा ४८ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस