आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन

काठमाडौँ, ३० चैत्र । होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गर्दै छ । महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । पोखरामा आयोजना गर्न लागेको २०औँ फेवा नव वर्ष महोत्सव–२०८२ मा यहाँ आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्ने भएका छन् ।
सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रूपमा रहने जानकारी दिनुभयो । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने छ। बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ ।
पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिने सो महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् ।
प्रकाशित मिति : २०८१ चैत्र ३० गते शनिवार