२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

साताव्यापी कार्यक्रम गरेर सल्यान मुलपानीमा २६ औं वनस्पति दिवस मनाइयाे

सल्यान ।

वनस्पति विभागको ६५ औं वार्षिकाेत्सव तथा २६ औं वनस्पति दिवस को उपलक्ष्यमा वनस्पति अनुसन्धान केन्द्र सल्यानले सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेकाे छ ।

“वनस्पतिको सम्भार: सुख र सम्बृद्दिको आधार” भन्ने नाराका साथ मुलपानी वनस्पति उद्यान परिसर र आसपासमा मिचाहा वनस्पतिको व्यवस्थापन गरेर चैत्र २३ गतेबाट सुरुवात भएको सप्ताहव्यापी कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ ।

साताव्यापी कार्यक्रम अन्तर्गत चैत्र २५ गते बिहान कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनबाट पालिका स्तरिय “काकडसिङ्गी कप खुला ब्याडमिन्टन प्रतियोगिता” को उद्घाटन भएको थियो । जुन प्रतियोगिता २८ गते सम्म चलेको थियो ।

कर्णाली प्रदेशका केहि जिल्लामा मात्र पाइने काकडसिङ्गी एक बहुउपयोगी रुख हो । यो जाडो समयमा धेरै रोगहरूको लागि रामवाण सावित भएको छ । काकडसिङ्गी धेरै नामहरू बाट चिनिन्छ । काकडसिङ्गीमा राइबोफ्लोबिन, एस्कॉर्बिक एसिड, कैरोटेन, निकोटिन एसिड, ग्लूटामाइन, ल्यूटियोलिन, पीपेकोलिक, मोमोरडिन जस्ता तत्व पाइन्छन् र यसले चिसोले हुने रुघा खोकी, ज्वरो, श्वासप्रश्वासको समस्या, दम, रक्तपित्त, रक्तदोष, रक्तचाप नियन्त्रण, बाल रोग, यौन दुर्वलता, प्रजनन समस्या लगायत तागत दिने टनिकका रुपमा समेत प्रयोग हुन्छ ।

यसको खोजीका लागि नेपाली र चिनियाँ व्यापारीहरु गाउँगाउँ आउने गर्दथिए । तर यसको संख्या घटेर दुर्लभ अवस्थामा पुगे पछि वनस्पति विभाग अन्तर्गतको वनस्पति अनुसन्धान केन्द्र सल्यानले यसको खोजी र संरक्षणमा अभियान नै चलाएको छ ।

दुर्लभ तर महत्वपूर्ण विरुवा काकडसिङ्गीको महत्व र संरक्षणका लागि अन्तरक्रिया पनि चैत २५ गते भएको थियाे । मुख्य समारोह भने चैत २९ गते शुक्रबार पालिका स्तरिय अन्तर मा. वि. हाजिरीजवाफ प्रतियोगिता, पुरस्कार वितरण, जैविक विविधता सचेतना सम्मान, कर्मचारी सम्मान तथा अन्य कार्यक्रम सहित सम्पन्न भएको छ ।

काकरसिङी कप ब्याडमिन्टन प्रतियोगिताका सुबाश हमाल र भुवन डाँगीको टीम प्रथम भइ १० हजार पुरस्कार जितेका थिए भने लोक बहादुर बस्नेत र भुवन महतरा दोस्रो (८ हजार), र यमराज महतारा र दिनेश थापाको टीम तृतीय (५ हजार) भएका थिए ।

यसैगरी हाजिरीजवाफ प्रतियोगितामा ने.रा. मा. वि. प्रथम, ब्लु डायमन्ड बोर्डिङ स्कुल द्दित्तिय र जीवन ज्योती रीमले तृतीय स्थान प्राप्त गरेका थिए ।

कार्यक्रममा जैविक विविधता सचेतना सम्मानबाट लेकाली अनलाइनका सम्पादक खकेन्द्र केसी र कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार सरिता चलाउनेलाई सम्मान गरिएकाे थियाे । यसैगरी कार्यालयमा उत्कृष्ट काम गर्ने कर्मचारी डम्बर बहादुर सेनलाई समेत सम्मान गरिएको थियो ।

वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेल, वडा ३ का वडाध्यक्ष्य प्रदिप खडका, जिल्ला आयुर्बेद अस्पताल सल्यानका प्रमुख डा. सम्झना जिसि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमकाे सहजिकरण कपुरकाेट गाउँपालिकामा कार्यरत जीवराज केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस