राजावादीहरूको आन्दोलनले केही परिवर्तन गर्न नसक्ने कांग्रेस महामन्त्री थापाको दाबी

काठमाण्डौँ, २८ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति धोए पनि सफा बनाउन नसकिने बताउनु भएको छ । नेपाली कांग्रेस बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले निर्मल निवासमा बसेर त उत्पात मच्चाउने ज्ञानेन्द्रले नारायणहिटी राजदरबारमा बसेको भए के गर्थे होला भन्दै प्रश्न गर्नु भएको छ ।
राजावादीहरूले काठमाडौँमा मात्रै उत्पात मच्चाउन खोजेको र देशका उपत्यका बाहेकका ठाउँमा राजावादीहरूको कुनै पनि कार्यक्रम नभएको थापाले बताउनुभएको छ । राजावादीहरूको आन्दोलनले केही परिवर्तन गर्न नसक्ने दाबी गर्दै थापाले त्यसको व्यवस्थापनमा समय खेर जाने भयो भन्ने चिन्ता मात्रै आफूलाई रहेको बताउनुभएको छ ।
कांग्रेसले स्थापना कालदेखि नै राजसंस्थालाई संवैधानिक बनाउनुपर्छ भनेको र २०४६ सालको जनआन्दोलन सफल भएपछि संवैधानिक राजसंस्था राखिएको बताउँदै महामन्त्री थापाले ज्ञानेन्द्र व्यवहारका कारण आफूहरू लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जान बाध्य भएको बताउनुभएको छ । अनुभवका आधारमा परिपक्व निर्णय गरेर यो व्यवस्थामा पुगिएको भन्दै अब पुरानो अवस्थामा फर्कन असम्भव रहेको उहाँको भनाइ थियो । जनताले छानेका प्रतिनिधि देश चलाउन सक्षम रहेको थापाले बताउनुभएको छ ।