अछाम आगलागीबाट ७ करोड भन्दा बढीको क्षति

काठमाण्डौँ, २७ चैत्र । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो ।
जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए । अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरूबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन गरिने बताउनु भएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २७ गते बुधवार