२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

राप्रपाले आज बृहत आमसभा गर्दै, सीसी क्यामेरा र ड्रोनबाट निगरानी,२ हजार प्रहरी परिचालन तयारी

काठमाडौँ, २६ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आमसभा बल्खुमा गर्ने भएको छ । राजसंसथा पुनस्थापना, हिन्दुराष्ट्र कायमाको माग र पक्राउ परेका नेता कार्यकर्ताको रिहाईको माग गर्दै राप्रपाले आज प्रदर्शन गर्ने भएको छ । तर,प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि बल्खुमा कार्यक्रम गर्ने तयार भएको छ ।

प्रशासनले बल्खु वा सिफलमा आमसभा गर्न भनेको थियो । चैत २२ गते राप्रपाले भृकुटीमण्डपमा सभा गर्नका लागि अनुमति मागेको थियो । प्रवक्ता मोहनकुमार श्रेष्ठले आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाउन आग्रह गर्नुभएको छ ।  यस्तै यही आमसभामार्फत राप्रपाले आफ्नो नयाँ आन्दोलनको शंखघोष गर्न लागेको हो । राप्रपाले गर्ने आन्दोलनलाई नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले समर्थन जनाइसकेको छ ।

समितिका कार्यवाहक अध्यक्ष डा. जगमान गुरुङले आन्दोलनमा राष्ट्रिय झण्डा बोकेर सक्रिय सहभागी हुनसमेत सबैलाई अपिल गरेका छन् । जुनसुकै पार्टी र समूहले पनि राजसंस्थाको एजेन्डा बोकेर गर्ने आन्दोलनमा सहभागी हुने समितिको घोषित नीति नै छ । अर्को राजावादी दल राप्रपा नेपालले भने अहिलेसम्म राप्रपाको आन्दोलनका विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । यसअघि दुर्गा प्रसाईँको नेतृत्वमा भएको तीनकुने आन्दोलनमा राप्रपा नेपालले समर्थन जनाएको थियो । तर, राप्रपाको आन्दोलनमा सहभागी हुने नहुनेमा पार्टी अनिर्णीत छ । यता राप्रपाकोको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् ।सुरक्षा रणनीति बनाएर परिचालन गरिने बताइएको छ । जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । 

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस