अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन क्लबहरुको नकआउट फुटबल प्रतियोगिता गर्ने

काठमान्डौं, २५ चैत । अखिल नेपाल फुटबल संघ एन्फाले नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एन्फाले ए डिभिजन क्लबहरु समावेश हुने नकआउट प्रतियोगिता २०८२ साल वैशाख २० गतेदेखि गर्ने जनाएको छ । एन्फाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ ।
नेपाली फुटबलको लिग साइकल पूरा नभएकोले पछिल्लो पटक भएको शहीद स्मारक ए डिभिजन लिगमा खेलेका १४ वटा क्लबलाई नै यस नकआउट फुटबल प्रतियोगितामा सहभागी गराउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनु भयो । पछिल्लो पटक भएको ए डिभिजन लिगबाट विभागीय टोली एपीएफ र खुमलटार युथ क्लब अन्तिम दुई स्थानमा रहेर बी डिभिजनमा घटुवा भएको थियो ।
आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा र ए डिभिजनका १४ क्लबहरुबीच ए.एफ.सी. क्लब प्रतियोगिता २०२५÷२६ को सिजनको बारेमा छलफल भएको थियो । त्यसमा एन्फा महासचिव किरण राईले बैशाख २० गतेबाट लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने र सो प्रतियोगिताको विजेताले ए.एफ.सी. क्लब प्रतियोगिता २०२५÷२६ सिजनमा भाग लिन पाउने प्रस्ताव गरेको र क्लबहरु सकरात्मक भएर सहमति जनाएको एन्फाले उल्लेख गरेको छ । यसैगरी प्रतियोगिताको लागि वैशाख १० गतेभित्र टिम दर्ता गर्ने र वैशाख १५ गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्ने विषयमा सहमति पनि भएको एन्फाले जनाएको छ ।