काठमान्डौं महानगरपालिकामा तलब निकासा सुरू, चार हजारभन्दा बढीले चैतसम्मको एकमुष्ट रकम बुझ्दै

काठमान्डौं, २५ चैत । काठमान्डौं महानगरपालिकाले रोकिएको तलब एकमुष्ट रुपमा वितरण गर्न थालेको छ । प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंले कमब्याक गरेसँगै तलब निकासा सुचारु भएको हो । प्रशासन नेतृत्वविहीन हुँदा ४ हजारभन्दा बढी शिक्षक र कर्मचारी तथा जनप्रतिधिको तलब रोकिएको थियो । शिक्षकहरूले ५ महिनाको र कर्मचारीहरुले तीन महिनाको तलब पाउन बाँकी रहेको थियो ।
प्रशासकीय अधिकृत गुरागाईं गएको विहीबार कार्यालयमा हाजिर भएपछि तलब निकासालाई पहिलो प्राथमिकतामा राख्नु भएको हो । महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले रोकिएको तलब वितरण आजबाट सुरू भएको बताउनु भयो । आजमात्र आधाभन्दा बढी कर्मचारीको तलब निकासा भइसकेको उहाँले जानकारी दिनु भयो ।
महानगर अन्तरगत तलब खाने स्थाइ, करार, दोहोरो हाजिरदेखि ज्यालादारी सम्मका कर्मचारी रहेका छन् । कुल मिलाएर ४ हजारभन्दा बढी जनशक्ति रहेको महानगरले जनाएको छ । सबैले चैतसम्मको तलब पाउने भएका छन् । महानगरले प्रत्येक महिना कर्मचारीको तलबमा साढे १२ करोड रूपैयाँ खर्च गदर्छ । यसपटक चैतसम्मको एकमुष्ट तलब खुवाउन ४० करोड रूपैयाँ हाराहारी खर्च गर्नुपरेको काफ्लेले बताउनुभयो ।