आज रामनवमी पर्व, देशभर श्रद्धा भक्तिपूर्वक भगवान रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, २४ चैत्र । आज रामनवमी पर्व, देशभर श्रद्धा भक्तिपूर्वक भगवान रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । चैत्र शुक्ल पक्षको नवमी तिथिका दिन मनाइने रामनवमी पर्व आज श्रद्धापूर्वक पूजा आरधना गरी देशभर मनाइँदैछ । हिन्दू धर्मग्रन्थ रामायणका अनुसार आजको दिनलाई भगवान श्रीरामचन्द्रको जन्म दिनको रुपमा पनि मनाउने गरिन्छ ।
त्रेतायुगमा आयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको जेष्ठ सुपुत्रका रुपमा विष्णुको अवतार लिएर श्रीरामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । भगवान रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको रामायणमा पढ्न पाइन्छ ।
त्यसैले असत्यमाथि सत्यको विजयको रुपमा लिइने पर्व रामनवमीको अवसरमा देशभरका राम मन्दिरहरुमा पूजा आराधना गरिन्छ । आजको दिन जनकपुरको रामजानकी मन्दिरमा भव्य पूजाआजा हुन्छ । रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । आज भगवान श्रीरामको व्रत, उपवास बस्ने र पूजा आराधना गर्नाले सुख, शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ । रामनवमीको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।