एकीकृत समाजवादीले चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने

काठमाण्डौँ, २३ चैत्र । नेकपा (एस) ले तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टीमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै यही चैत २५ गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने भएको छ ।
पार्टीले घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिने उद्देश्यले विरोध प्रदर्शन एवं सभा गर्न लागिएको हो । पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा तह, प्रदेश, क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनु भएको छ ।
उक्त घटनाबाट पार्टीमा पुगेको क्षति विवरण सङ्कलन गर्न केन्द्रीय उपमहासचिव रामकुमार भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, अन्तरराष्ट्रिय परिस्थितिबारे जनतालाई सुसूचित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि मुलुकमा सुशासन, रोजगारी, समृद्धिलगायत विषयमा देशभर राजनीतिक सभा गर्ने कार्यसूची छ ।
पार्टीले सङ्गठन सुदृढीकरणका लागि जनताको आर्थिक तथा सामाजिक न्यायको अवस्था अध्ययन गरी उनीहरुको गरिबी निवारण, सुशासन, जनजीविका केन्द्रित आन्दोलनका कार्यक्रम बनाएको छ । मुलुकमा राजनीतिक आडमा भएका विकृतिबारे भण्डाफोरको प्रस्ट पारिने छ ।