घरबाटै पक्राउ परे रवि लामिछाने, आज हवाई मार्गबाट भैरहवा पठाइने

काठमाडौँ, २३ चैत्र । बुटबलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतको आदेश अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठस्थित लामिछाने निवास हेपाली हाइटबाट पक्राउ गरेको हो । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले लामिछानेलाई पक्राउ गर्न आदेश गरेका हुन् ।उच्चको आदेशसँगै यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । उच्चले जिल्लाको आदेश बदर गरेर उनलाई थुनामै राख्ने आदेश गरेको छ । चैत २४ गते आइतबार उनलाई अदालतमा उपस्थित गराइने प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीहरूले जानकारी दिएका छन् । यसअघि लामिछाने पुस २५ गते जिल्ला अदालत कास्कीमा धरौटी बुझाएर ८४ दिनको हिरासत बसाइपछि रिहा भएका थिए ।