२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

बैंकक सोचपत्र २०३० जारी गर्दै बङ्गालको खाडीको प्रयास बिम्स्टेकको छैटौं शिखर सम्मेलन सम्पन्न

काठमान्डौं, २२ चैत ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको छैटौं शिखर सम्मेलन बैंकक सोचपत्र २०३० जारी गर्दै सम्पन्न भएको छ । यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैंकक भिजन सहित ६ बुँदे प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावबारे जानकारी दिन आयोजक राष्ट्र थाइल्यान्डकी प्रधानमन्त्री पेथोङ्थान शिनावात्राले त्यहाँ पत्रकार सम्मेलन गर्नुभएको छ ।

प्रस्तावमा बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह ई.पी.जी. गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यान्मार र थाइल्यान्डलाई सहयोग गर्ने विषयसहितको संयुक्त वक्तव्य, पर्यटन र संस्कृतिलाई प्राथमिकताका विषयहरू रहेका छन् ।

थाई प्रधानमन्त्रीले शिखर सम्मेलनको सम्मुखमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो औपचारिक थाइल्यान्डको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो । नेपालका प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको एक दिनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट पनि औपचारिक थाइल्यान्ड भ्रमण भएको थियो । शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सदस्य देशका सरकार प्रमुखले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस