काठमान्डौंमा आज पनि शिक्षकहरूद्धारा प्रदर्शन

काठमान्डौं, २१ चैत । हिजोदेखि काठमान्डौं केन्द्रित प्रदर्शन शुरू गरेका शिक्षकहरूले आज पनि प्रदर्शन गरेका छन् ।माइतीघर मण्डलामा भेला भएका शिक्षकहरू बाँसुरी र मादल बजाउँदै तथा आफ्ना मागबारेमा नारा लगाउँदै नयाँ बानेश्वरतर्फ गएका हुन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेर यसअघि धर्ना र अनशन लगायतका कार्यक्रम गरेका शिक्षकहरूले माग सुनुवाइ नभएको भन्दै काठमान्डौं केन्द्रित भएर सडक प्रदर्शन गरेका हुन् ।
यसैबीच, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति निकालेर आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । तर नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले, सहमति र छलफलको आवश्यकता नरहेको भन्दै ऐन जारी गर्ने भएमात्र मन्त्रालय जाने प्रतिक्रिया दिनुभएको छ । यसअघि २०८० साल असोज ५ गते सरकारसँग भएको ६ बुँदे सहमतिका आधारमा ऐन जारी गर्नुपर्ने शिक्षकहरूको माग रहेको छ ।