सरकारद्धारा आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह

काठमाण्डौँ, २१ चैत्र । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।
यता, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका छन् । यसअघि धर्ना र अनशनलगायतका कार्यक्रम गरेका शिक्षक माग सुनुवाइ नभएको भन्दै काठमाडौं केन्द्रित भएर सडकमा उत्रिएका हुन् ।
आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको शिक्षकहरूको भनाइ छ । तर, ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त भएको छ । शिक्षकहरुले ऐन जारी गर्न माग गरे पनि भर्खरै संसदको हिउँदे अधिवेशन अन्त्य भएकोले सम्भव छैन । शिक्षकहरुले भने अध्यादेशबाट भए पनि आफ्ना माग सम्बोधन गर्नु पर्ने बताएका छन् । यसबारे संसदीय समितिले भने असहमति जनाएको छ ।