वितेको चैत १५ गतेको तीनकुने घटनाबारे सरकारको जवाफ माग

काठमान्डौं, २० चैत । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले चैत १५ गतेको घटनाबारे सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्यहरूले राजावादीको प्रदर्शनका क्रममा भएको घटनाका विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि समितिले चैत २२ गते शुक्रबारको बैठकमा गृहमन्त्रीलाई बोलाउने निर्णय गरेको हो । बैठकमा सांसदहरूले चैत १५ गते शुक्रबार भएको घटनाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका थिए ।
साथै उनीहरूले उक्त घटनाको न्यायिक छानबिनसमेत माग गरेका छन् । कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुने घटनाको छानबिनका लागि सरकारले न्यायिक छानिबन समिति बनाउनुपर्ने बताउनु भयो । उहाँले तीनकुने घटनामा सरकारको बुझाइ समिति समक्ष आउनुपर्ने पनि बताउनु भयो ।
त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनामा सरकारको कमजोरी देखिएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने बताउनु भयो । प्रहरीले घेरामा रहेका बेलामा दुर्गा प्रसाईंलाई समात्न नसक्ने र अहिले छिटो पक्राउ गर्छौं भन्दा कसैले पत्याउन नसक्ने टिप्पणी गर्नुभयो । यसैगरी रा.प्र.पा.का सांसद बुद्धिमान तामाङले १५ गतेको घटनामा एकपक्षीयरूपमा राजावादीप्रति खनिएको भन्दै निष्पक्ष न्यायिक छानबिनको माग गर्नुभयो ।