२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

छत्रेश्वरीका महिलालाई कटाई सिलाई तालिम प्रदान

 
सल्यानको छत्रेश्वरी गाउँपालिकामा १५ जना महिलाले आधारभुत कटाई सिलाई सम्बन्धि तीन महिने सीप सिकेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले कटाई सिलाई तालिम प्रदान गरिएको हो । छत्रेश्वरी गाउँपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको संयुक्त साझेदारीमा संचालन भएको तीन महिने कटाई सिलाई तालिमको मंगलबार समापन गरिएको हो । 
 
तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले सीप सिकेर सोही अनुसारको व्यवसाय संचालन भएमा महिलाहरुको परनिर्भरता हट्ने र घरेलु हिंसामा पनि कमि आउने बिश्वास व्यक्त गरे । गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत र कार्यपालिका सदस्य तिला घर्तीले कटाई सिलाइको काममा दक्ष बन्न नियमित अभ्यास गर्नुपर्ने सुझाव दिइन्  ।
 
तालिमका प्रशिक्षार्थी बिमला बिक र हिमा भण्डारीले आफ्नो अनुभव सुनाउदै तालिममा निकै महत्वपूर्ण सीप सिकेको र कटाई सिलाइको माध्यमबाट आत्मनिर्भर बन्न सक्ने आंट आएको बताइन् ।
 
आगामी आर्थिक बर्षमा आधारभुत सीप प्राप्त गरेका प्रशिक्षार्थीहरुलाइ पुनर्ताजगी संगै एड्भान्स तालिम संचालन गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख जनक खड्काको भनाइ छ । 
 
तालिम समापन कार्यक्रममा वडा सदस्य डुम बहादुर खत्री, गाउँपालिकाका प्रेस सल्लाहकार शंकर केसी, उद्यम बिकास सहजकर्ता निमा बस्नेत, प्रशिक्षक बिमला घर्ती लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण उद्योग कार्यालयका सुचना अधिकारी ध्रुव बहादुर खत्रीले गरेका थिए 

प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस