आजदेखि विमानस्थल १८ घण्टा सञ्चालन हुने

काठमाण्डौँ, १९ चैत्र । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय (काठमाण्डौँ) विमानस्थलको सञ्चालन अवधि बढ्दैछ । कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि सोमबारसम्म दैनिक १४ घण्टा मात्रै रहेको थियो । आज (मंगलबार) देखि दैनिक १८ घण्टा सञ्चालन हुन थालेको हो । सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले नयाँ फ्लाइट सेड्युलसमेत निर्धारण गरेको छ ।
विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार कायम गर्नसक्ने अवस्था भएसँगै सञ्चालन अवधि वृद्धि गर्न लागिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण सम्पन्न भएको छ । योसँगै धावनमार्गबाट निर्माण स्थलसम्म कायम हुनुपर्ने न्यूनतम दूरीको मापदण्ड पूरा हुने अवस्थासँगै सञ्चालन अवधि बढाउन लागिएको हो । अब काठमाडौँ विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो ।