२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

रास्वपाले पहिलो महाधिवेशन वैशाखमा गर्ने 

काठमाण्डौँ, १९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आउँदो वैशाखमा हुने भएको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाबाट घोषणा गरेकै समय अर्थात वैशाखमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्य र प्रदेश समितिबाट आउँदो तीन दिनभित्र लिखित राय र कार्यविवरण पार्टीमा पेश गर्न सभापति लामिछानेले निर्देशन दिनुभएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ । 

त्यसैगरी बैठकले ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ यही चैत २३ गते चितवनबाट शुरु गर्ने निर्णय गरेको छ । पार्टीकातर्फबाट राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न उपसभापति डोलप्रसाद अर्याल र डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्री सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा.तोसिमा कार्कीसहितको ‘मिसन ब्लुप्रिन्ट’ कार्यदल गठन गरिएको छ ।

लिडरसिप एकेडेमी र उम्मेद्वार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्री सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ । पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधिलगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस