राजावादीको आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा भएको क्षति पूर्वाराजा ज्ञानेन्द्र शाहसँग असुल गराउनुपर्नेमा समाजवादी मोर्चाको निर्णय

काठमाण्डौँ, १८ चैत्र । गत शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनका क्रममा भएको क्षति पूर्वाराजा ज्ञानेन्द्र शाहसँग असुल गराउनुपर्नेमा समाजवादी मोर्चाले निर्णय गरेको छ ।
आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले चैत १५ गतेको घटना नियोजित भएको र यसको सम्पूर्ण क्षतिपूर्ति पूर्वराजा शाहले बेहोर्नुपर्ने निष्कर्ष निकालेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनु भएको छ ।
गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा ध्वंशात्मक प्रदर्शन गर्दा दुई जनाको ज्यान गएको थियो । आन्दोलनकारीहरूले तीनकुनमा रहेको दुईवटा निजी घर, सञ्चारगृह, कोटेश्वरमा रहेको जडिबुटी कारखानामा तोडफोड र आगजनी गरेका थिए ।
यसैगरी, एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि आगजनी गरेका थिए । यसैगरी, १४ वटाभन्दा बढी सार्वजनिक सवारीसाधनमा आगजनी गरेका थिए । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा उनीहरूले लुटपाटसमेत गरेका थिए ।
आन्दोलनको जनकमाण्डर भनेर तोकिएका दुर्गा प्रसाईंले त प्रहरीमाथि जथाभावी गाडी चलाएर हत्याको प्रयास गरेका थिए । उनी अहिले फरार रहेका छन् भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उपाध्यक्ष एवं प्रतिनिधिसभा सांसद धवलशमशेर राणा पक्राउ परेका छन् । उनीहरूविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको छ ।