५ महिना पछि पार्टी जिम्मेवारीमा फर्किँदै रास्वपा सभापति लामिछाने,आज केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौ, १८ चैत्र। रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किनुहुने भएको छ । सहकारी ठगी प्रकरणमा उहाँ पार्टी कार्यालयबाट कात्तिक २ गते पक्राउ पर्नु भएको थियो । उहाँ विरुद्ध काठमाडौं, पोखरा, चितवन, बुटवलमा सहकारीको मुद्दा चलिरहेको छ । पुस ८ गतेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।
आज दिउँसो केन्द्रीय समितिको विशेष बैठकबाट रास्वपाले रविलाई पार्टीमा कमव्याक गराउने भएको छ । दिउँसो ३ बजेदेखि निरन्तर दुई वटा बैठक घण्टीघरमा राखिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ३ बजेको पहिलो बैठकमा कावा सभापति अर्यालले धन्यवाद ज्ञापन गरेसँगै समापन हुनेछ । र, दोस्रो बैठकको सभापतित्व लामिछानेले गर्नु हुने छ । लामिछानेसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुनेछ ।
त्यस्तै लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण र बहस, अधिवेशन÷महाधिवेशन कार्यतालिकालगायत पनि छलफलको एजेण्डामा छ ।