२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

राजावादीहरुले जडीबुटी सञ्चो उत्पादक कम्पनीमा आगजनी गर्दा करोडौँको क्षति

काठमाण्डौँ, १७ चैत्र । काठमाण्डौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा राजाबादीका प्रदर्शनकारीहरुले आगो लगाउँदा करोडौँकोे क्षति भएको छ । चैत्र १५ गते शुक्रबार राजाबादी समुहले तोडफोड र आगजनी गर्दा  करोडौंको क्षति भएकोे हो ।

तोडफोड र आगजनीबाट जडीबुटी प्रशोधन गर्ने उपकरण, ल्याब परिक्षण गर्ने उपकरण, सञ्चो बनाउनका लागि चाहिने कच्चा पदार्थ सबै जलेर नष्ट भएको जडीबुटी उत्पादन तथा प्रसोधन केन्द्रका महाप्रबन्धक संगिता यादवले जानकारी दिनु भएको छ । यस्तै संस्थाको ४ वटा सवारीसाधन, ९ वटा अन्य कार्यालयको गरि १३ वटा गाडी, ६ वटा मोटरसाईकललगायत सम्पुर्ण समाग्रीहरु जलेर नष्ट भएको महाप्रबन्धक यादवले बताउनु भयो ।

उहाँका अनुसार उद्योगमा चार दशकभन्दा बढी समयदेखि जडीबुटीबाट स्वदेशी वाम अर्थात् सञ्चो उत्दान तथा प्रशोधन हुँदै आएको छ । बोटलमा भरेर राखेको सञ्चो, त्यसको कच्चा पदार्थ, बजारमा पठाउनका लागि तयार पारेर राखिएको सञ्चो सबै नष्ट भएका छन् ।

वन तथा वातावरण अन्तरगत सरकारी स्वामित्वको संस्थान २०३८ सालमा स्थापना भएको थियो । जडिबुटीमा उत्पादित सञ्चो लगायतका हिमालय मसाज आयल, सन्चो बाम, सन्चो जटाकेश तेल, सन्चो सिलाजित र सन्चो सेनेटाइजर स्वदेश तथा विदेशसम्म बिक्रि वितरण हुँदै आएको छ । 

कम्पनीसँग प्रदेश १ को सुनसरीको तराहरा र बेलबारी, प्रदेश २ बाराको तामागढीमा खेती विस्तार शाखा छ ।  यस्तै प्रदेश ४ अन्तर्गत गोरखाको सिरानचोक गाउँपालिकामा शाखा विस्तारको क्रममा रहेको बताइएको छ ।

यस्तै, प्रदेश ५ मा शाखा विस्तारको योजना छ भने प्रदेश ६, कर्णालीको जाजरकोटमा संकलन केन्द्र स्थापना गरिएको छ, जहाँ मुख्य गरी टिमुर प्रशोधनको काम हुन्छ र शुद्ध टिमुर बजारमा ल्याउने प्रक्रियामा थियो । कर्णालीको मुगुमा शाखा विस्तारको योजना भइरहेको थियो । सुदूर पश्चिमको टीकापुरमा शाखा कार्यालय छ ।

यसैगरि, स्वदेश तथा अन्तर्राष्ट्रियस्तरमा स्वेडेनमा निर्यात हुँदै आएको थियो भने जर्मनी, फ्रान्स, पाकिस्तानलगायतका देशमा निर्यातको लागि सम्झौता भइरहेको थियो । कम्पनीले वार्षिक करिब २० करोडको कारोबार गर्दै आएको थियो । उद्योगबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ९ सय भन्दा बढीले रोजगारी पाएको छन् भने केन्द्रीय कार्यालयमा मात्र करिब ९० जना कामदार र कर्मचारी कार्यरत छन् ।  हजारौंले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

यता, उद्योगका सुपरभाइजर बागेश्वर प्रसाद सिंहका अनुसार शुक्रबार ३ बजेसम्म कार्यालय समय थियो । लगभग सबै कर्मचारी घर हिँडिसकेपछि आगजनी र तोडफोड गरिएको थियो । आगो लागेको लामो समयसम्म पनि सुरक्षाकर्मीहरु त्यहाँ नपुगेको उहाँको गुनासो छ  । समयमा सुरक्षाकर्मी तथा दमकल त्यहाँ पुगेको भए धेरै क्षति हुन नपाउने उहाँको भनाई छ । 
सरकारीस्तरबाट सुरक्षा निकाय फितलो भएका कारण धेरै भौतिक सरंचनामा क्षति पुगेको कार्यालय स्रोतले जनाएको छ । शुक्रबारको घट्नामा धेरै भौतिक संरचनामा क्षति पुगेको छ भने एभिन्युज टेलिजिभजनका पत्रकार र एक स्थानीय गरि २ जनाले ज्यान गुमाएका छन् । तीनकुने केन्द्रित राजावादी समूहको प्रदर्शन अराजक बन्दै जडिबुटी कम्पनीमा तोडफोड र आगजनीमा उत्रेको थियो । 

प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस