पत्रकारको हत्या भएको भन्दै नेपाल पत्रकार महासङ्घको विरोध

काठमाण्डौँ, १६ चैत्र । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् ।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उहाँको त्यही जलेर मृत्यु भएको थियो । उहाँको हत्याको विरोधमा आज बिहान नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
आज पत्रकार महासंघको स्थापना दिवससमेत हो तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो ।
पत्रकारमाथिको हिंसात्मक आक्रमणको भत्र्सना, पेशागत सुरक्षाको ग्यारेन्टी, सुरेश रजकका हत्यारालाई कारबाही तथा प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग गरिएको छ । पत्रकार महासङ्घको अगुवाइमा शुक्रबार ज्यान गुमाएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले मृतक रजकलाई न्याय दिलाउन महासङ्घ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विरोध प्रदर्शनमा पत्रकार महासङ्घका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँले, पत्रकार तथा पत्रकारका विभिन्न सङ्घ सङ्गठनका पदाधिकरीहरुलगायतको उपस्थिति रहेको थियो ।