होटल व्यवसायी महासंघको साधारणसभा भोलि हुँदै, पर्यटनमन्त्रीलाई गुनासो सुनाउने

काठमान्डौं, १५ चैत । होटल व्यवसायी महासंघको १२औं वार्षिक साधारण सभा भोलि शनिबार काठमान्डौंमा हुने भएको छ ।महासंघले कलंकीमा पत्रकार सम्मेलनको आयोजना गरी साधरणसभा हुनेबारे जानकारी गराएको हो । महासंघका अनुसार साधारणसभा गौशाला पिंगलास्थानमा रहेको होटल क्रिष्टलमा हुने छ ।
साधारणसभामा प्रमुख अतिथि रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, त्यस्तै बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी, पर्यटन सचिव विनोदप्रकाश सिंह, काठमान्डौं महानगरपालिकाकी उप–मेयर सुनिता डंगोल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठलगायतको उपस्थिति रहने छ । साधारणसभामा करिब ३ सय प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।
यसैबीच, आज महासंघको सचिवालय र केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नहरुको महासंघका अध्यक्ष दिनेशकुमार चुके लगायतकले जवाफ दिनु भएको थियो । पर्यटनसँग सम्बन्धित मागहरू सम्बोधन नभएको अवस्थामा ती माग साधारणसभामा उठाउने कार्यक्रम रहेको अध्यक्ष चुकेले जानकारी दिनु भयो । यसैगरी पर्यटन ऐन, २०३५ लाई परिमार्जन गर्ने सम्बन्धमा पर्यटन मन्त्री, सचिव र सराकारवालसँग छलफल गर्ने कार्यक्रम रहेको महासंघका महासचिव टिआर भण्डारीले जानकारी दिनु भयो ।
महासचिव भण्डारीले साधारणसभामा छलफल भएका विषयलाई लिएर सम्बन्धित निकायसम्म जाने र समाधानको पहल गरिने बताउनु भयो । महासंघका अनुसार होटल व्यवसायीहरूले यो क्षेत्रमा करिब ५ खर्ब लगानी गरेका छन् भने बैंक तथा सहकारीहरूबाट २ खर्ब रुपैयाँ कर्जा कारोबार गरेका छन् । वि.स.२०६८ सालमा महासंघको स्थापना भएको हो । साधारणसभाको सह–आयोजकको रुपमा जिल्ला होटल व्यवसायी संघ काठमान्डौं रहेको छ ।