प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने

काठमान्डौं, १४ चैत । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने भएका छन् ।
आज भैरहवाको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा पुलिसलाई ४ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो । प्रतियोगितामा पुलिसको यो पहिलो हार हो । पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य आर्मीले ६ विकेट गुमाएर ५४ बलअघि नै भेटाएको थियो । आर्मीका विवेक यादवले नटआउट ४१ रन बनाएका थिए । पुलिसका ललित राजवंशीले ४ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४१ ओभर ४ बलमा १ सय ४८ रन बनाउँदा सबै विकेट गुमाएको थियो । प्रतियोगितामा १० वटा टोली सहभागी भएकामा पुलिस र आर्मी शीर्ष २ मा रहेर फाइनल खेल्ने भएका हुन् । फाइनल खेल आउँदो शनिवार हुनेछ ।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते बिहिवार