संसद अघि बढ्न नसक्ने, ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष दाहाल

काठमान्डौं, १३ चैत । ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि पुनः जालझेल भएको बताउनुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले प्रधानमन्त्रीले संसदमा आएर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई सहज रुपमा लिनुपर्ने पनि बताउनुभयो ।
उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित कुराहरु टुंग्याएर आफू सिंहदरबारबाट निस्किए लगत्तै कुलमानलाई हटाउने निर्णय गर्नुले आफू दुःखित र चिन्तित भएको बताउनुभयो । आफू सिंहदरबारबाट निस्किएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएर हटाउनु नहुने र केही दिन पर्खिएको भए हुने उहाँको भनाइ रहेको थियो ।
प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार