२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट घिसिङलाई हटाएपछि सरकारको विरोध

काठमान्डौं, १३ चैत ।  सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि सडक हुँदै संसद्मा समेत सरकारको विरोध भएको छ । सामाजिक सञ्जाल र सडकमा चर्को विरोध भइरहेकोमा आज विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक नै अवरुद्ध गरेका छन् ।

बैठक शुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल ने.क.पा. माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि विपक्षी दलका तर्फबाट कुरा राख्न सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई समय दिनुभयो ।

बस्नेतले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आएर संसद्मा जवाफ नदिएसम्म संसद् चल्न नदिने बताउनुभयो । यसैगरी, नेपाली कांग्रेसका महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित कांग्रेसका केही नेता र कार्यकर्ताले समेत घिसिङलाई हटाएकोमा विरोध गरेका छन् ।

आज पनि विद्युत् प्राधिकरणको कार्यालय अगाडि प्रदर्शन भएको छ । यसैबीच, सरकारले घिसिङलाई पदबाट हटाउनुपर्ने कारण खुलाएर दिएको पत्रमा सञ्चालक समितिले गरेका निर्णयहरू कार्यान्वयन नगरेको आरोप रहेको छ । विद्युत् प्राधिकरणको सञ्चालक समितका अध्यक्ष ऊर्जामन्त्री हुने व्यवस्था रहेको छ । तर अहिलेको सरकार गठन भएदेखि नै ऊर्जामन्त्री दीपक खड्का र घिसिङबीच सम्बन्ध राम्रो रहेको थिएन ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस