तीन दलका शीर्ष नेताको सिंहदरबारमा बैठक सुरु, संक्रमणकालीन न्याय टुंग्याउनका लागि छलफल हुँदै

काठमान्डौं, ११ चैत । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक केहीबेर अघि सुरु भएको छ । सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा ने.क.पा. एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ने.क.पा.माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सहभागिता रहेको छ ।
संक्रमणकालीन न्याय टुंगोमा पु¥याउने तयारी स्वरूप बसेको बैठकमा अरु नेतालाई पनि राखिएको छ । एमाले नेतासमेत रहनु भएका प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल, कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रबाट शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी हुनुहुन्छ । बैठकमा संक्रमणकालीन न्याय टुंग्याउनका लागि छलफल अघि बढाउने तयारी रहेको छ ।
सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयनका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समिति काम पूरा नगरी विघटन भएकाले नयाँ समिति बनाउनुपर्ने छ । यसैबीच, मिश्र नेतृत्वको सिफारिस समितिलाई ६० दिनको समयसीमा दिइएको थियो । दुवै आयोगका पदाधिकारीका लागि समितिमा १ सय ५८ जनाको आवेदन परेकोमा अध्यक्षका लागि आठ जना र सदस्यका लागि ३२ जना सर्ट लिस्टमा परेका थिए ।