सन् १९८९ पछि शुक्रबार साँझ नेपालले सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दै

काठमान्डौं, ७ चैत । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी शुक्रबार सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नयाँ प्रशिक्षक म्याट रोस नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ । यसलाई लिएर अष्ट्रेलियन प्रशिक्षक रोस देखि नेपाली टिम, खेलाडी सबै जना उत्साहित भएका छन् ।
पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको नेपाली टोली नयाँ जोशका साथ अष्ट्रेलिया पुगिसकेको छ । त्यहाँ नयाँ प्रशिक्षकको नेतृत्वमा सकरात्मक सुरुवात गर्ने योजनामा रहेको छ । नेपाल र सिंगापुरबीचको खेल शुक्रबार साँझ नेपाली समयअनुसार ६ः१५ बजे सुरु हुनेछ ।
मैत्रीपूर्ण खेल भएकोले रोसलाई नयाँ खेलाडीलाई परीक्षण गर्ने अवसर समेत रहेको छ । उहाँले आफ्नो पहिलो टिममा तीन नयाँ खेलाडी समेत समेट्नु भएको छ । यस पटक नेपाली टोलीमा तीन जना नयाँ अनुहार रहेका छन् । फरवार्ड सुबास बम ठकुरीसहित डिफेण्डर सुमन श्रेष्ठ र गोलकिपर अन्जल श्रेष्ठले पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन् ।
यसैबीच नेपालले ३६ वर्षपछि सिंगापुरसँग फुटबल खेल खेल्न लागेको हो । यसअघि पछिल्लो पटक सन् १९८९ मा फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र सिंगापुरबीच खेल भएको थियो ।