२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

महायज्ञको नाममा दलित परिवारको घर भत्काइयो, उक्त विषयमा सांसदहरूको आपत्ति 

काठमाण्डौँ, ७ चैत्र ।  सिरहाको औरही गाउँपालिका–५ मा हुन लागेको महायज्ञका लागि स्थानीय एक डोम परिवारको घर भत्काइएको छ । दलित भन्दै त्यहाँको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ । यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ । दीपककी श्रीमती अनिता मरिक (डोम) ले महायज्ञ स्थलमा दलित परिवार बस्न नहुने भन्दै आफूहरुको घर भत्काइएको बताउनुभएको छ । 

‘यज्ञमा आउन लागेका बजरंगी बाबाको आदेशपछि फागुन १० गते डोजर लगाएर  घर भत्काइएको थियो । अनिता र दीपकको परिवार आफ्नै जग्गा नभएकाले दुई दशक अघिदेखि त्यहाँको सार्वजनिक जग्गामा बसिरहेको थियो । पाँच वर्षअघि मधेश प्रदेश सरकारले जनता आवास योजना अन्तर्गत उनीहरुका लागि दुईकोठे पक्की घर पनि बनाइदिएको थियो । अहिले त्यही पक्की घर भत्काइएपछि डोम परिवार सुन्दर जनता मावि औरहीको दुई धुर जग्गामा फुसको घरमा सर्न बाध्य भएको छ ।

महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव मिलेर घर भत्काइएको स्थानीयको भनाइ छ । चार दिनअघि मात्रै छोरा अर्जुनको विवाह गरेर बुहारी भित्राएको अनिताको परिवार अहिले समस्यामा परेको छ । हतारमा घर भत्काउँदा घरभित्र भएका केही सामान समेत झिक्न नपाएको पीडित परिवारको भनाइ छ । यता, महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूले आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले पीडित परिवारलाई न्याय दिन माग गरेका हुन् । 

प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस