२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

बितेको फागुन महिनामा गाडी दुर्घटनामा २ सय १ जनाको ज्यान गयो 

काठमान्डौं, ६ चैत ।  बितेको फागुन महिनामा गाडी दुर्घटनामा परेर देशभरि दुई सय एक जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनमा चार हजार दुई सय ८९ वटा गाडी दुर्घटना हुँदा दुई सय एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा एक सय ५३ पुरुष, ३३ महिला, १० बालक र पाँच जना बालिका रहेका छन् । फागुनमा गाडी दुर्घटनामा ६ सय ३६ जना गम्भीर घाइते भएका छन् । यस्तै तीन हजार चार सय ६६ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क रहेको छ । फागुन महिनामा सबैभन्दा धेरै २ हजार ४ सय २३ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । 

सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् । गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, ओभरटेक, मदिरा सेवन गरेर गाडी चलाउनु, चालक अनुमतिपत्र नभएकाले चलाउनु, यात्रुले बाटो पार गर्दा ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले फागुन महिनामा एक लाख १६ हजार दुई सय ३१ जना चालकलाई कारबाही गरेर नौ करोड ५० लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस