सल्यानका ७ क्याम्पसले पाए स्ववियुकाे नयाँ नेतृत्व

सल्यान ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सल्यानमा रहेका ७ वटा क्याम्पस क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ नेतृत्व चएन भएको छ । तीनवटा क्याम्पसमा निर्बिराेध नेतृत्व चयन भएको छ भने चारवटा क्याम्पसमा निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन भएकाे छ ।
चारवटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले दुई, नेपाल विद्यार्थी संघ (नेविसंघ)ले एक र अनेरास्ववियुले एक क्याम्पसमा जित हाँसिल गरेकाे छ ।
मंगलबार भएको निर्वाचनबाट सल्यान बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानलबाट अध्यक्षमा अनेरास्ववियुका विशाल पुन विजयी भएका छन् ।
कुल मतदाता ३ सय ३२ जना मतदाता रहेकोमा जम्मा खसेको १ सय ५८ मतमध्ये पुनले १ सय २० मत पाएका थिए । यस्तै, सचिवमा ९४ मत ल्याउँदै प्रसान्त शाह र कोषाध्यक्षमा १०६ मत ल्याएर अस्मिता बस्नेत विजयी भएकाे निर्वाचन समितिले जनाएको छ ।
जनकल्याण क्याम्पस थारमारेको अध्यक्षमा अखिल क्रान्तिकारीका गणेश वली विजयी भएका छन् । १८ मतकाे अन्तरले वली १९६ मत ल्याएर विजयी भएका हुन् । यहाँ अनेरास्ववियुबाट सचिवमा बिमला शर्मा सचिव पदमा १ मतान्तरले १८६ मत सहित विजयी भएकी छन् भने काेषाध्यक्षमा नेविसंघका नविन सुनार १९९ मत सहित विजयी भएका छन् ।
थारमारेमा नेविसंघ र अनेरास्ववियुकाे गठबन्धन थियाे भने अखिल क्रान्तिकारी एक्लै चुनावमा हाेमिएकाे थियाे ।
यसैगरी शिवजन क्याम्पस सितलपाटी भएको निर्वाचनमा सञ्जय हमाल अध्यक्ष पदमा निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार उनले १ सय ९४ मत प्राप्त गरे । उपाध्यक्ष पदमा आभिष चनारा १८२ मत र कोषाध्यक्ष पदमा यारम रावत १८५ मत ल्याएर विजयी भए । निर्वाचनमा जम्मा २९६ मत खसेको थियो । विजयी सबै नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलका उम्मेदवार हुन् । यहाँ अखिल क्रान्तिकारी एक्लै चुनावमा हाेमिएकाे थियाे ।
उता दार्माको फारुला बहुमुखी क्याम्पसमा पनि हिमा शर्माको नेतृत्वमा अखिल क्रान्तिकारीका सबै उम्मेदवारहरु विजयी भएका छन् । यहाँ विप्लव नेकपा निकटका अखिल समाजवादीका उम्मेदवार थिए । अध्यक्षमा अखिल समाजवादीका निशान देवकाेटाले ५१ मत ल्याउदा अखिल क्रान्तिकारीकी हिमा शर्मा ६५ मत ल्याएर विजयी भएकी हुन् ।
३ क्याम्पसमा ३ संगठनकाे निर्बिराेध
यस्तै, बन्गाड क्याम्पसमा अखिल क्रान्तिकारीका जीवन बिष्ट, शारदा क्याम्पस शंखमुलमा अनेरास्ववियुका विश्व खड्का र कपुरकोट बहुमुखी क्याम्पसमा नेविसंघका झलक ओली निर्बिराेध रुपले यसअघि नै सभापति पदमा निर्वाचित भएका थिए । यी क्याम्पसमा अन्य पदहरुमा पनि निर्बिराेध भइसकेकाे थियाे ।